टुडेपाटी-
जनकपुरधाम, बैशाख १९ गते ।
धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयले ५० औँ वर्ष पूरा गरेको अवसरमा शुक्रबार भव्यतापूर्वक आफ्नो स्वर्ण जयन्ती मनाएको छ । सो अवसर पारेर विद्यालयमा योगदान गर्नेहरुलाई सम्मान गरेको छ ।
स्वर्ण जयन्तीको अवसरमा विद्यालयका २०६७ देखि २०८२ सालसम्मका एसएलसी तथा एसईई उत्तीर्ण पूर्व विद्यार्थीहरूलाई ‘टोकन अफ लभ’ प्रदान गरी सम्मान गरिएको छ । यस्तै, विद्यालयमा योगदान पु¥याउने पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा नागरिक समाजलाई समेत सम्मान गरिएको छ । साथै, स्वर्ण जयन्तीको अवसरमा आर्थिक सहयोग प्रदान गरेका व्यक्तिहरूलाई दोसल्ला तथा प्रमाणपत्र प्रदान गरी विद्यालयले सम्मान गरेको छ ।
समारोहमा प्रतिनिधि सभा सदस्य राजकिशोर महतोले शिक्षा नै समृद्ध समाज निर्माणको मुख्य आधार भएको बताए । ग्रामीण क्षेत्रमा रहेको यस विद्यालयले पाँच दशकसम्म निरन्तर शैक्षिक सेवा प्रदान गर्नु गौरवको विषय भएको बताउँदै उनले अबको समय गुणस्तरीय, व्यवहारिक र प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने बताए । विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आफ्नोतर्फबाट आवश्यक सहयोग रहने उनको प्रतिबद्धता थियो ।


कार्यक्रममा प्रदेश सभा सदस्य हरिनारायण महतो र शारदा पहाडीले विद्यालयको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी, बटेश्वर गाउँपालिका अध्यक्ष रामअशिष महतोले स्थानीय स्तरमा शिक्षा विकासमा लक्ष्मी माध्यमिक विद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्न आवश्यक सहयोग गर्ने उनको प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक अशोकुमार ठाकुरले वि.सं. २०३२ सालमा स्थापना भएको यस विद्यालयले माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै ५० वर्षको गौरवमय यात्रा पूरा गर्दा विद्यालयले हजारौँ दक्ष जनशक्ति उत्पादन गरिसकेको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, पूर्व विद्यार्थी तथा नागरिक समाजलगायतको सहभागिता रहेको थियो । विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।
