टुडेपाटी-
जनकपुरधाम, बैशाख १२ गते ।
धनुषामा एक बलात्कार पीडित महिलालाई पतिले छाडेपछि बिचल्लीमा परेकी छन् । अहिलेसम्म दोषीलाई कारबाही नहुँदा घटनापछि पतिले छाडेपछि आफू थप पीडामा परेको संचारकर्मी समक्ष गुनासो गरेकी छन् ।
धनुषाको सबैला नगरपालिका–३ की २२ वर्षीया महिलाले गत पुस ६ गते आफू बलात्कारमा परेको भन्दै चैत १ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी थिइन् । तर जाहेरी दर्ता भएको लामो समय बितिसक्दा पनि आरोपित पक्राउ नपरेको र आफू घरबारविहीन अवस्थामा पुगेको उनको दुखेसो छ ।

पीडितका अनुसार २०८२ पुस ६ गते साँझ जनकपुरधाम–४ मुरली चोक क्षेत्रमा ‘प्रसाद’ भन्दै दिएको लड्डु खाएपछि आफू बेहोस भएकी थिइन्। सोही अवस्थाको फाइदा उठाउँदै आरोपितले आफ्नो इच्छाविपरीत करणी गरेको उनले जाहेरीमा उल्लेख गरेकी छन् । आरोपित सबैला नगरपालिका–३ का अमिस महरा रहेको जाहेरीमा उल्लेख छ ।

जाहेरीअनुसार आरोपितले घटनाको भिडियोसमेत बनाएको र सार्वजनिक गर्ने तथा परिवारलाई हानी पु¥याउने धम्की दिँदै बारम्बार करणी गरेको उल्लेख छ । घटनापछि श्रीमानले समेत गलत बुझाइका कारण घरबाट निकालिदिएको र हाल आफू माइतमा बस्दै आएको पीडितले बताएकी छन् ।
पीडक जनकपुरधामस्थित एक अस्पतालमा कार्यरत रहेको र खुलेआम हिँडडुल गरिरहे पनि प्रहरीले पक्राउ नगरेको पीडितको गुनासो छ । दोषीमाथि कारबाही नभएको र पारिवारिक साथसमेत गुमाउँदा आफू बिचल्लीमा परेको उनले बताएकी छन् ।