टुडेपाटी-
जनकपुरधाम, वैशाख ६ गते ।
चितवनस्थित नेत्र ज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा अब महोत्तरीको ग्रामीण क्षेत्रमा पनि विस्तार भएको छ । जिल्लाका चार पालिकाको संगमस्थल पर्सादेवाडस्थित जानकी एकेडमिक अस्पतालमा निःशुल्क आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो ।
भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग तथा विभिन्न पालिकाको सहकार्यमा स्थापना गरिएको अन्तरपालिका आँखा उपचार केन्द्रको शनिबार मधेश प्रदेशका सभामुख रामअशिष यादव र जानकी एकेडमिक हस्पिटलका सञ्चालक डा. सुरेन्द्र यादवले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

गत फागुन २१ गतेदेखि अनौपचारिक रूपमा सेवा सुरु भएको उक्त केन्द्रमा शनिबारदेखि शल्यक्रियासहितको औपचारिक सेवा सञ्चालनमा आएको छ। केन्द्रमा भरतपुर आँखा अस्पतालका विशेषज्ञसहित नौ जनाको टोलीले शनिबार बाहेक अन्य दिन ओपीडी, शल्यक्रिया लगायत सम्पूर्ण आँखा उपचार सेवा निःशुल्क उपलब्ध गराउने जनाइएको छ।

उद्घाटन कार्यक्रममा अस्पताल व्यवस्थापन समिति अध्यक्ष जयराम श्रेष्ठ, सचिव केशव अधिकारी, पर्यावरण अभियन्ता सुरेश शर्मा लगायत विभिन्न पालिकाका प्रमुख, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थिति रहेको थियो ।
यस अन्तरपालिका आँखा उपचार केन्द्र सञ्चालनका लागि रामगोपालपुर नगरपालिका, सम्सी गाउँपालिका, सोनामा गाउँपालिका, औरही नगरपालिका, मनरा नगरपालिका र एकडारा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
ग्रामीण क्षेत्रमा सुरु भएको यस सेवाले स्थानीय बासिन्दाले सहज रूपमा गुणस्तरीय आँखा उपचार सेवा पाउने अपेक्षा गरिएको छ ।
