टुडेपाटी-
जनकपुरधाम, चैत २७ गते ।
प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।
शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी गराए । रुबीकुमारीलाई उनको दल श्रम संस्कृतिसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन थियो ।
राप्रपाले भने एकल प्रतिस्पर्धा गरेको हो । नेकपा एमालेले भने यो निर्वाचनमा भाग लिएन ।


आज सदनमा २५६ सांसद उपस्थित थिए । यीमध्ये ले रुबीकुमारीलाई उपसभामुख बनाउने पक्षमा २२९ जनाले मतदान गरे । उनको विपक्षमा ५ जनाले मतदान गरे भने २२ जना तटस्थ बसे ।
राप्रपाकी सरस्वतीको पक्षमा जम्मा ५ मत खस्यो । उनी शुक्रबार साँझ नै सभामुख डीपी अर्यालयबाट पद तथा गोपनियताको शपथ लिएकी छन् ।
जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलिया बस्ने रुवी अढाई महिना अघि मात्र हर्क सम्पांग नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भएकी थिइन् । उनलाई समानुपातिक सांसद बनाइएको थियो । उनी नेपालमा अहिलेसम्मकै कम उमेर २५ वर्षमा उपसभामुख बनेकी हुन् ।
