टुडेपाटी-
जनकपुरधाम, चैत १६ गते ।
जनकपुरधामको शिवचोकस्थित गंगासागरको पश्चिम क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेको फुटपाथ बजार खाली गराइएको छ । मधेश प्रदेशका गृहमन्त्री फकिरा महतोको नेतृत्वमा दुई दिन लगाएर उक्त क्षेत्रको फुटपाथ हटाइएको हो ।
फुटपाथमा कठघेरा राखी व्यवसाय सञ्चालन हुँदै आएकोले गंगासागर क्षेत्रको सौन्दर्यसमेत प्रभावित भएको थियो । गृहमन्त्री महतो स्वयं उपस्थित भई डोजर, नेपाल प्रहरी तथा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रहरीको सहयोगमा हटाउने कार्य सम्पन्न गरिएको हो ।
यसअघि आइतबार पनि केही संरचना हटाइएको थियो र बाँकी टहरा तथा कठघेरा हटाउन सोमबार बिहान ११ बजेसम्मको समय दिइएको थियो । तर, निर्देशनको अवज्ञा भएपछि गृहमन्त्री महतो पुनः टोलीसहित पुगेर फुटपाथ पूर्णरूपमा खाली गराएका हुन् ।

यसक्रममा फुटपाथ व्यवसायीहरूले जीविकोपार्जनको विकल्प व्यवस्थापन गर्न माग गरेका छन् । स्थानीयवासीले प्रदेश सरकारको कदमको प्रशंसा गरेका छन् भने सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका ठूला भवन तथा होटलहरू पनि हटाउनुपर्ने मागसमेत उठाएका छन् ।