टुडेपाटी-
जनकपुरधाम, चैत १ गते ।
धनुषाको बटेश्वर गाउँपालिकामा युवाहरूको सक्रियतामा सरकारी सेवामा प्रवेश बढाउने उद्देश्यले लोकसेवा आयोग तयारी कक्षा सञ्चालन हुने भएको छ । कक्षा सुरु गर्नुअघि आइतबार शिवशक्ति माध्यमिक नमूना विद्यालयमा पालिकाका जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका युवाहरूको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक प्रमोदशरण केवटको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष फुलकुमारी सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वक्ताहरूले व्यवस्थित तथा प्रभावकारी रूपमा कक्षा सञ्चालन गर्ने, शुल्क तिरेर अध्ययन गर्न नसक्ने विद्यार्थीहरूलाई अवसर उपलब्ध गराउने तथा सरकारी विभिन्न सेवामा युवाहरूको सफलता दर बढाउने विषयमा आफ्ना धारणा राखेका थिए । सहभागीहरूले आ–आफ्नो तहबाट कक्षा सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

बटेश्वरका बासिन्दा समेत रहेका लेखा अधिकृत अमरदीप महतोको नेतृत्वमा सोमबारदेखि बटेश्वर बजारस्थित एक हलमा कक्षा सञ्चालन हुने जनाइएको छ ।

अधिकृत महतोका अनुसार संघीय लोकसेवा आयोगअन्तर्गत खरिदार, सुब्बा लगायतका पद, मधेश प्रदेश लोकसेवा आयोगअन्तर्गत चौथो र पाँचौँ तहका पद, शिक्षक सेवा आयोग, बैंकिङ, प्रहरी सेवा लगायत विभिन्न संघसंस्थाका परीक्षामा गाउँका बढीभन्दा बढी युवालाई सहभागी गराउने र सकारात्मक सोच विकास गर्ने उद्देश्यले कक्षा सञ्चालन गर्न लागिएको हो ।

अभिमुखीकरण कार्यक्रममा वडा नं. १ का अध्यक्ष अशोककुमार महतो, वडा नं. ३ का अध्यक्ष राममणि कुशवाहा, वडा नं. ५ का अध्यक्ष शिवकरण यादव, बटेश्वरका बासिन्दा तथा हुलाकी सडक निर्देशनालय जनकपुरका प्रमुख कृष्णकुमार महतो, मिथिला नगरपालिकाका अधिकृत सूर्यनारायण महतो, बटेश्वर गाउँपालिकाका शिक्षा अधिकृत रामलाल महतो स्थानीय समाजसेवी समेत रहेका गंगोत्री बोर्डिंग स्कुलका संचालक गणेश साह, सेवानिवृत शिक्षक चन्देश्वर महतो लगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रमको उद्घोषण बर्दिबास मालपोत कार्यालयका सुब्बा तथा बटेश्वरका बासिन्दा प्रकाश निरौलाले गरेका थिए ।