TodayPati

टुडेपाटी-
जनकपुरधाम, फागुन २९ गते ।

जनकपुरधामस्थित जानकी हेल्थकेयर एण्ड टिचिङ हस्पिटलको २०औँ वार्षिकोत्सव सम्पन्न भएको छ । आफ्नो स्थापना दिवसको अवसरमा अस्पतालले वृक्षारोपण तथा केक काटेर कार्यक्रम मनाएको हो ।

बिहीबार बिहान अस्पतालले सडक पेटीमा वृक्षारोपण गरेको थियो। साँझ अस्पतालका सञ्चालक डा. सुरेन्द्र यादवको अध्यक्षता तथा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायको प्रमुख आतिथ्यमा केक काट्ने कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रायले जानकी हेल्थकेयरले व्यवस्थित ढङ्गले आफ्नो २० वर्षे यात्रामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको भन्दै प्रशंसा तथा बधाई व्यक्त गरे।

अस्पतालका सञ्चालक डा. सुरेन्द्र यादवले समाजको हितका लागि अस्पताल निरन्तर रूपमा काम गरिरहेको बताए । उनले २०७२ सालको मधेश आन्दोलनका क्रममा घाइते भएकाहरूको त्यसबेला निःशुल्क उपचार गरिएको स्मरण गर्दै सहिद परिवारका सदस्यहरूलाई अहिलेसम्म पनि निःशुल्क उपचार सेवा प्रदान गरिरहेको जानकारी दिए ।

वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रमोद यादव, नेपाल चिकित्सक संघ जनकपुरका अध्यक्ष डा. रामज्ञान यादव, अस्पतालका इन्चार्ज हरिश्चन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *