TodayPati

टुडेपाटी-
जनकपुरधाम, फागुन २७ गते ।

मधेस प्रदेशमा प्रदेश सांसद पदबाट राजिनमा दिएर चुनाव लडेका पूर्व मुख्यमन्त्री र निवर्तमान सभामुखसहित तीनजना पराजित भएका छन् । एकजना मात्र निर्वाचित भएका हुन् । पराजित मध्ये पूर्व मुख्यमन्त्री र मन्त्रीको जमानत नै जफत भएको छ ।

नेकपा माओवादी केन्द्रका रहबर अंसारी पदबाट राजिनामा दिएर रास्वपाबाट उम्मेदवार बनेका उनी मात्र बरा क्षेत्र नं. ४ बाट निर्वाचित भएका छन् । उनी ४१ हजार २ सय मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ ११ हजार ६३९ मतमा सिमित भए ।

धनुषा क्षेत्र नं. १ मा नेकपा एमालेबाट चुनाव लडेका निवर्तमान सभामुख रामचन्द्र मण्डलसमेत पराजित हुन पुगेका छन् । उम्मेदवारी कायम रहेका उम्मेदवार मध्येको मतगणना गर्दा मण्डल तेस्रो नम्बरमा छन् । उनले ९ हजार ३१५ मत पाएका छन् । पहिलोमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका प्रसाद यादव १० हजार ४०३ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार रामपल्टन साह ९ हजार ५०२ मत पाएका हुन् ।

सप्तरी २ बाट उम्मेदवार बनेका पूर्व मुख्यमन्त्री सिंहको जमानत नै जफत भएको छ । त्यहाँ
रास्वपाका रामजी यादव २८ हजार ४०४ मत पाएर विजयी हुँदा सिंह चौथो नम्बरमा ३ हजार ५५७ मत पाएका छन् । सिंहले पाएको मत ३ हजार ५५७ कुल सदर मतको ५. ६७ प्रतिशत मात्र हो । सदरमतको १० प्रतिशत नआए जमानत जफत हुने व्यवस्था छ । यस क्षेत्रमा खसेको मतमध्ये ६२ हजार ७८३ सदर खसेको छ ।

महोत्तरी क्षेत्र नं. ४ मा चुनाव लडेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहको समेत जमानत जफत भएको छ । त्यहाँ रास्वपाका गौरी कुमारी ३० हजार १३२ मत ल्याएर निर्वाचित हुँदा पाँचौ नम्बरमा साहले ५ हजार ३३६ मत मात्र पाएका छन् । त्यहाँ खसेको सदर मत मध्ये उनले १० प्रतिशत कटाउन सकेनन् । त्यहाँ ५९ हजार ५४५ सदर मत खसेको छ । साह मधेशका पूर्व अर्थ मन्त्री र गृहमन्त्री हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *