TodayPati

टुडेपाटी-
जनकपुरधाम, फागुन १५

धनुषामा प्रेम सम्बन्धकै कारण एक युवकको निर्मम हत्या भएको खुलेको छ । बिहीबार अपराह्न करिब ४ बजे औरही गाउँपालिका–६ स्थित खेतमा हंसपुर नगरपालिका–९ रुदौली निवासी गंगाराम मण्डलका १९ वर्षीय छोरा सुमित मण्डलको घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो ।

घाँटी अगाडिबाट धारिलो हतियार प्रयोग गरी रेटिएको र शरीरका अन्य भागमा समेत कुटपिटका गम्भीर चोट देखिएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न तीन जनालाई सार्वजनिक गर्दै प्रारम्भिक अनुसन्धानबाट हत्या किशोरीसँगको प्रेम सम्बन्धकै कारण भएको पुष्टि गरेको छ ।

धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुवरका अनुसार सुमितको हंसपुर नगरपालिका–६ निवासी सुरजा मण्डलकी १७ वर्षीया छोरी काजल कुमारी मण्डलसँग प्रेम सम्बन्ध थियो । हत्या अभियोगमा प्रेमिका काजलसहित उनका दाजु २० वर्षीय दिपेश कुमार मण्डल र काका २९ वर्षीय परमेश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रेमिका भेट्न गएका सुमितको यसरी भयो घटना

प्रहरीका अनुसार सुमित र काजलबीच करिब एक वर्षदेखि प्रेम सम्बन्ध थियो । काजलका बुवा–आमा बुधबार विवाह समारोहमा गएको मौका छोपी सुमित साँझ आफ्नो मोटरसाइकल लिएर प्रेमिकालाई भेट्न घर पुगेका थिए ।

सुमित घरभित्र प्रवेश गरेपछि काजलका काका परमेश्वर मण्डलले उनलाई नियन्त्रणमा लिएर सुमित र काजल दुवैको मोबाइल खोसेर स्विच अफ गरिदिएका थिए। त्यसपछि परमेश्वरले काजलका दाजु दिपेशलाई बोलाई दुवैले सुमितका हात पछाडिबाट डोरी र गम्छाले बाँधेर कुटपिट गरेका थिए ।

प्रारम्भिक अनुसन्धान अनुसार, कुटपिटपछि सुमितलाई मोटरसाइकलमा राखी करिब डेढ किलोमिटर टाढा खेतमा लगेर धारिलो खुकुरी प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको हो ।

हत्या गर्न प्रयोग गरिएको खुकुरी, मोटरसाइकल तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सःशुल्क विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *