टुडेपाटी-
जनकपुरधाम, फागुन ७ गते ।
सर्लाहीमा निर्माणाधीन मन्दिरमा राखेको पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा पर्ने मलंगवा नगरपालिका ४ ढाँकामा निर्माणाधीन मन्दिरमा बेवारिसे अवस्थामा रहेको पेस्तोल पड्किएर स्थानीय रामविश्वास रामका छोरा १५ वर्षीय आकाश राम घाइते भएका हुन् । उनको दाहिने हातमा गोली लागेको सर्लाही प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरीका अनुसार दिउँसो १ः३० बजेदेखि निर्माणाधीन मन्दिरको कुनामा रातो कपडाले बेरिएको वस्तु फेला परेपछि बालक आकाशले कपडा खोलेर हेर्न खोजेका थिए । सोही बेला पेस्तोल पड्किएको बताइएको छ । घटनास्थलबाट पेस्तोल एक थान, पड्किएको गोलीको खोका एक थान र पेस्तोलमै अड्किएको एक थान गोलीको खोका बरामद भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
बरामद भएको हतियार जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ल्याएर थप अनुसन्धान भइरहेको डिएसपी राईले बताए । पेस्तोल कस्ले राखेको हो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको डिएसपी राईको भनाइ छ ।
