TodayPati

टुडेपाटी-
जनकपुरधाम, फागुन ३ गते ।

आज देशभर महाशिवरात्रि पर्व भक्तिभावका साथ उल्लासपूर्वक मनाइँदैछ । भगवान शिवको आराधनाका लागि श्रद्धालु भक्तजनहरू बिहानैदेखि शिवालयहरूमा पूजाआजा र व्रत–उपासना गर्दै व्यस्त देखिन्छन् ।

वैदिक सनातन हिन्दू परम्पराअनुसार भक्तजनहरूले बिहानै नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पुगेर पूजा–अर्चना गर्ने परम्परा छ । यस अवसरमा जनकपुरको कपिलेश्वरनाथ महादेव, धनुषाको क्षिरेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वरनाथ महादेव, टुटेश्वरनाथ महादेव लगायतका प्रमुख शिवालयहरूमा भक्तजनहरूको उल्लेख्य भीड लागेको छ ।

शिवपुराणलगायत विभिन्न धार्मिक ग्रन्थहरूका अनुसार महाशिवरात्रि भगवान शिवको उत्पत्तिसँग सम्बन्धित चार पवित्र रात्रिमध्ये एक मानिन्छ । यस दिनलाई धर्म, तपस्या र सत्यको उदय गराउने आशुतोष भगवान शिवको अत्यन्त प्रिय दिनका रूपमा लिइन्छ ।

महाशिवरात्रिमा भक्तजनहरूले व्रत बस्ने, शिवलिङ्गमा दूध, धतुरो र बेलपत्र अर्पण गर्ने परम्परा निर्वाह गर्छन् । यस रात जाग्राम बसेर भजन–कीर्तन गर्नाले पुण्य प्राप्त हुने, सर्वसिद्धि मिल्ने र यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

यसै अवसरमा भगवान शिवलाई जाडो नहोस् भन्ने जनविश्वासअनुसार गाउँ–सहरका चोक, मठ–मन्दिरमा धुनी जगाइन्छ । भक्तजनहरू भजन–कीर्तन गर्दै त्यसै आगोमा प्रसाद तयार गरी ग्रहण गर्ने परम्परा समेत धुमधामका साथ मनाइँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *