TodayPati

टुडेपाटी-
जनकपुरधाम, माघ २३ गते ।

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा गएराति सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा बझाङ बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, सोही स्थानका अन्दाजी २७ वर्षका दीपक जोशी र अन्दाजी ४५ वर्षका किसनदत्त जोशी, बझाङको केदारस्यु गाउँपालिका ७ बस्ने अन्दाजी २६ वर्षीय केशवराज भट्ट र बैतडी पुर्चौडी नगरपालिका ७ का अन्दाजी १४ वर्षीय सुशील जोशीको मृत्यु भएको छ ।

यसैगरी मृतकको सूचीमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशी, बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा घाइते भएकाहरुमध्ये २५ जनाको डडेलधुरामा र ४ जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल छन् । जन्ती सवार बस बझाङको सुनकुडातर्फ फर्किंदै गर्दा दुर्घटनामा परेको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेर कच्याककुचुक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *