TodayPati

टुडेपाटी

जनकपुर, माघ १८ गते ।

देशव्यापी नवप्रवर्तन अभियान ‘कोड फर इम्प्याक्टः यूएस–नेपाल टेक इनोभेसन ह्याकाथन’ को जनकपुर संस्करण सम्पन्न भएको छ ।

प्रविधिमार्फत सामाजिक समस्या समाधान खोज्ने उद्देश्यसहित आयोजना गरिएको ह्याकाथनले मधेश प्रदेशमा नयाँ ऊर्जा र उत्साह थपेको आयोजकले जनाएको छ ।

गत जनवरी १८–१९ मा बुटवलबाट सुरु भएको यो अभियानले गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेशमा सफलतापूर्वक आफ्ना संस्करण सम्पन्न गरिसकेको छ । मधेश र कर्णाली प्रदेशमा समानान्तर रूपमा ह्याकाथन आयोजना गरिएको थियो भने यस श्रृंखलाको अर्को संस्करण बागमती प्रदेशमा हुने तय भएको छ ।

जनकपुरमा आयोजित ह्याकाथनमा मधेश प्रदेशभरिका युवा नवप्रवर्तकहरूले स्वास्थ्य, शिक्षा र कृषि जस्ता प्राथमिकताका क्षेत्रमा केन्द्रित प्रविधि समाधानहरू विकास गरेका थिए । सहभागी टोलीहरूलाई नेपालको उदीयमान प्रविधि क्षेत्रका अनुभवी मेन्टरहरूले मार्गदर्शन गरेका थिए । कार्यक्रममा तत्कालीन समाधानभन्दा दीर्घकालीन प्रभाव, सहकार्य र मानव केन्द्रित डिजाइनलाई प्राथमिकता दिइएको थियो ।

मधेश प्रदेश ह्याकाथनको समापनमा कृषि क्षेत्रमा देखिएका चुनौतीहरू समाधान गर्ने किसान–केन्द्रित प्रविधि विकास गरेका दुई टोली प्रादेशिक विजेता तथा सेमिफाइनलिस्टका रूपमा चयन भएका छन् ।

अमेरिकी दूतावास नेपालको नेतृत्वमा आद्यन्त एडभाइजरी, एमचाम नेपाल र आद्यन्त फण्ड म्यानेजमेन्टको साझेदारीमा सञ्चालित यो छ महिनासम्म चल्ने कार्यक्रममा सातै प्रदेशका करिब १७५ युवा सहभागी हुनेछन् ।

‘कोड फर इम्प्याक्ट’ ले काठमाडौं बाहिरका प्रतिभालाई प्रविधि, मेन्टरशिप र लगानीसँग जोड्दै नेपालमा नवप्रवर्तनको नयाँ पुस्ता तयार पार्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *