टुडेपाटी-
जनकपुरधाम, माघ १० गते ।
नेपालमा सबैभन्दा बढी कुष्ठरोगी मधेश प्रदेशमा रहेको पाइएको छ । मधेश प्रदेशका स्वास्थ्य निर्देशनालय अन्तर्गत क्षय तथा कुष्ठ रोगका फोकल पर्सन राजवीर यादवका अनुसार देशभरका कुल कुष्ठरोगीमध्ये करिब ३६ प्रतिशत मधेश प्रदेशमै रहेका छन् ।
“कुष्ठरोगको छ ओखती, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती” भन्ने मूल नारासहित मनाइएको ७३ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा मधेश प्रदेशका ६ जिल्लामा मात्रै ८ सय ५७ जना नयाँ कुष्ठरोगी फेला परेको जानकारी सार्वजनिक गरिएको छ।
देशभर नयाँ कुष्ठरोगीको सङ्ख्या २ हजार ४ सय ९ रहेको छ ।
जसमध्ये मधेश प्रदेशमा ८ सय ५ जना कुष्ठरोगी उपचारपछि निको भएका छन् । सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सबै कुष्ठरोगी भेटिएका छन् ।

नेपालका १६ जिल्लामा कुष्ठरोगीको उपस्थिति रहेको छ । प्रदेशगत रुपमा मधेशपछि लुम्बिनी प्रदेशमा ५ सय ७९ जना कुष्ठरोगी छन् ।
कुष्ठरोगका कारण अङ्गभङ्ग भएका १ सय ५४ जनामध्ये ५८ जना मधेश प्रदेशका छन् ।
धनुषाका जनस्वास्थ्य प्रशासक उमेश यादवले कुष्ठरोगीको सङ्ख्या घटे पनि रोग लुकाउने प्रवृत्ति, सामाजिक विभेद, दक्ष जनशक्तिको अभाव र खुला सीमा चुनौती बनेको बताए ।
लालगढ कुष्ठरोग अस्पतालका तालिम अधिकृत अरविन्द साहका अनुसार कुष्ठरोग श्वासप्रश्वासमार्फत सर्ने भएकाले पहिचान र समयमै निःशुल्क उपचार अत्यावश्यक छ ।