TodayPati

टुडेपाटी-
जनकपुरधाम, माघ ९ गते ।

श्रीपञ्चमी पर्व आज देशभर उत्साहका साथ मनाइँदैछ। माघ शुक्ल पञ्चमीका दिन पर्ने यस पर्वमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ।

यो दिन विशेषगरी विद्या, बुद्धि र सिर्जनशीलताको देवी सरस्वतीको पूजा गरेमा ज्ञान प्राप्त हुने धार्मिक विश्वास छ। देशभरका सरस्वती मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।

यस अवसरमा विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा रहेको छ। आजकै दिन लेखपढ गर्न सिकाए राम्रो विद्या प्राप्त हुने मान्यता छ।

हातमा वीणा र पुस्तक लिएकी, चन्द्रमाजस्तै उज्यालो वर्णकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता विभिन्न नामले पुकार्छन्।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरूले कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन्। तान्त्रिकहरू भने तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा सरस्वतीको आराधना गर्छन्।

यो दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ, किनभने सूर्य उत्तरतिर लाग्नाले दिन लामो हुँदै जान्छ र वसन्त ऋतुको सुरुआत हुने विश्वास गरिन्छ।

ऋग्वेदमा सरस्वतीलाई ‘वाग्देवी’का रूपमा उल्लेख गरिएको छ भने गान्धर्व पुराणमा आजको दिन पूजा गरेमा सर्वसिद्धि प्राप्त हुने भनिएको छ। ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको उपासनाले ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने धार्मिक मान्यता छ।

आजको दिन विवाह, व्रतबन्ध, गुफा राख्ने तथा बेलविवाह जस्ता धार्मिक तथा सामाजिक कार्य गर्न कुनै साइत हेर्नुपर्दैन भन्ने जनविश्वास छ। साथै, बालबालिकालाई शिक्षारम्भ गराउनुका साथै नाक–कान छेड्ने परम्परा पनि छ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि बढ्ने तथा चेतनाको ज्योति प्राप्त हुने विश्वास गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *