टुडेपाटी–
जनकपुरधाम, पुस २९ गते ।
नौं बुँदे घोषणापत्र जारी गर्दै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको मधेश प्रदेश सम्मेलन सम्पन्न भएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका–२ स्थित कल्चरल भिलेजमा सोमबार सम्पन्न सम्मेलनले नेपाली पत्रकारिता गम्भीर मोडमा पुगेको निष्कर्ष निकाल्दै ९ बुँदे घोषणापत्र जारी गरेको हो ।
घोषणापत्रमा पत्रकारहरूको प्रविधिमैत्री क्षमता विकास, पत्रकार पलायन रोकथाम, आचारसंहिता पालन तथा सञ्चारमाध्यम सञ्चालनमा देखिएका चुनौती समाधानका लागि महासंघ केन्द्र र प्रदेशले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
स्थानीय सञ्चारमाध्यमको दिगोपनाका लागि सरकारी विज्ञापनलाई एकद्वार प्रणालीमार्फत वितरण गर्न पहल गरिने, बदलिँदो सञ्चार परिवेशअनुसार पत्रकारहरूलाई सबल, जिम्मेवार र प्रभावकारी बनाउन तालिम तथा क्षमता विकास कार्यक्रमलाई प्राथमिकता दिने घोषण पत्रमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो क्रान्तिले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको घोषणा पत्रमा पत्रकार आचारसंहिता पालनामा कडाइ गर्ने, प्रदेश सरकारसँग सञ्चारमाध्यमलाई उद्योगका रूपमा मान्यता दिन जोडदार माग गर्ने तथा ‘प्रेस’ शब्दको बढ्दो दुरुपयोग नियन्त्रणका लागि कानुनी तथा नीतिगत पहल गर्ने उल्लेख छ ।

यस्तै युट्युब लगायतका विद्युतीय सञ्चारमाध्यमलाई अवसरका रूपमा लिँदै तिनको व्यवस्थित, मर्यादित र जिम्मेवार सञ्चालनका लागि पहल गरिने समेत घोषणापत्रमा रहेको महासचिव क्रान्तिले बताए ।
पत्रकारिता क्षेत्रमा आजीवन योगदान पु¥याएका नेपाल पत्रकार महासंघका पूर्व सभापति स्वर्गीय होमनाथ दहालसहित मधेश प्रदेश तथा देशभरका दिवंगत पत्रकारप्रति सम्मेलनले श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
महासंघका मधेश प्रदेश अध्यक्ष श्याम प्रसाद बञ्जाराको अध्यक्षता तथा महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो ।
नेपाल पत्रकार महासंघको विधानको दफा १४ को उपदफा २ मा प्रदेश समितिले एकअवधिमा कम्तिमा प्रदेश भित्रका जिल्ला शाखाहरुका अध्यक्ष, सचिव र कोषाध्यक्षसहितको सहभागितामा प्रदेश सम्मेलन गर्ने व्यवस्था छ । सोही अनुसार प्रदेश समितिले आयोजना गरेको सम्मेलनमा मधेशका जिल्लाहरुबाट अध्यक्ष/उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सहभागिता रहेको थियो । जिल्लाहरुबाट महाशाखाको गतिविधि लगायत भोगिरहेको चुनौती लगायतको रिपोर्टिंग प्रस्तुत गरिएको थियो । उठेका साँझा मुद्दाहरुलाई घोषणापत्रमा समेटिएको महासचिव क्रान्तिले बताए ।

सम्मेलनमा विशिष्ट अतिथिको रुपमा महासंघका केन्द्रीय महासचिव रामप्रसाद दहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी थिए भने अतिथिहरुमा केन्द्रीय लेखासमिति संयोजक केसी लामिछाने, आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खडगा, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादव, केन्द्रीय सदस्यद्वय राजेश कर्ण र राजु विक, प्रदेश सल्लाहकार अवधेश झा लगायतले आफ्ना धारणा राखेका थिए ।
