TodayPati

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, पुस १८ गते ।

महोत्तरीको पिपरा गाउँपालिका–७ दनौलीका २२ वर्षीय पवनदेव माझी चिकित्सा शिक्षा (एमबीबीएस) अध्ययनका लागि प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । मधेशका सबैभन्दा सबभन्दा पिछडिएका तथा पिँधमा रहेका मुसहर समुदायबाट एमबीबीएस पढ्न पूर्ण छात्रवृत्ति नाम निकाल्ने पवनदेव पहिलो व्यक्ति हुन् । कडा मिहिनेत र लगनशीलताले नाम निकाल्दा उनी उत्साहित छन् । सँगै उनलाई चिन्ता र चुनौती पनि थपिएको छ । कारण, उनी विपन्न परिवारका सदस्य हुन् । घरको आर्थिक अवस्थाले होस्टेलमा बसेर पढ्ने लगायतको खर्च जुटाउन मुस्किल छ ।

‘बुबा विदेशमा मजदुरी गरेर कमाएको पैसाबाट घरको गुजारा चल्छ । यहाँसम्म आइपुग्न बुबाकै योगदान छ,’ पवनदेव भन्छन्, ‘अब बुबा ६० वर्ष पुग्नुभयो । होस्टेलमा बसेर कसरी पढ्ने, त्यो खर्च कसरी जुटाउने भन्ने चिन्ता छ । अझै ६ वर्ष अध्ययन गर्नुपर्नेछ ।’
विपन्न परिवारको अभाव र संघर्षबीच चिकित्सक बन्ने उनको सपना कडा मिहिनेत र दृढ इच्छाशक्तिका कारण यहाँसम्म आइपुगेको हो ।

पवनदेवका बुबा शिवनारायण माझीको नाममा जम्मा ५ धुर घडेरीमा बनेको सानो पक्की घर र दुई कठ्ठा जमिन मात्र छ । शिवनारायण विगत १४ वर्षदेखि विदेशी भूमि कतारमा मजदुरी गर्दै परिवारको जोहोसँगै सन्तानलाई पढाउँदै आएका छन् । उनका दुई छोरा पवनदेव र बासुदेव छन् । कान्छो छोरा बासुदेवले पनि कक्षा १२ उत्तीर्ण गरिसकेका छन् । आमा सृजना माझी घरधन्दासँगै आफ्नै दुई कठ्ठा र केही अधियामा लिएको जमिनमा खेती गर्छिन् । कहिलेकाही गाउँघरमा ज्याला–मजदुरी पनि । पवनदेवले पनि पढाइसँगै आमालाई घरखेतको काममा सघाउने र कहिलेकाहीँ मजदुरीमा जान्थे ।

पवनदेवले जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित गोगल प्रसाद नमूना माध्यमिक विद्यालयबाट २०७७ सालमा एसईई र २०८० सालमा विज्ञान विषय लिएर कक्षा १२ उत्तीर्ण गरेका हुन् ।

पवनदेवका अनुसार उनका हजुरबुबा स्व. रामवृक्ष माझी र बुबा शिवनारायणको चाहना गाउँघरमै स्वास्थ्य सेवा दिन सक्ने हेल्थ असिस्टेन्ट (एचए) बनाउने थियो । गाउँमा अहिले पनि एचए वा अहेबलाई ‘डाक्टर’ भन्ने प्रचलन रहेकाले त्यही सपना बुबाको थियो । तर पवनदेवले भने पूर्ण चिकित्सक (एमबीबीएस) बन्ने सपना बुनेका थिए । त्यसका लागि उनले एमबीबीएसको पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने लक्ष्यसहित निरन्तर मेहनत गर्न थाले ।

२०८० सालमा पवनदेवले घरमै बसेर किताब अध्ययन गर्दै र युट्युबमार्फत शैक्षिक भिडियोहरू हेरेर एमबीबीएस प्रवेश परीक्षाको तयारी गरे । काठमाडौं गएर औपचारिक तयारी गर्ने चाहना भए पनि पारिवारिक आर्थिक अवस्थाले सम्भव देखेन । किन भने त्यति बेला बुबा शिवनारायण विदेशबाट फर्केका थिए । र पुनः विदेश जाँदा करिब छ महिना काम नै पाएनन् । परिवार आर्थिक संकटमा थियो । स्वअध्ययन गरेरै पवनदेवले २०८० मै एमबीबीएस प्रवेश परीक्षा दिए । परीक्षा उत्तीर्ण त भए, तर पूर्ण छात्रवृत्तिमा नाम निस्केन । शुल्क तिरेर पढ्ने आर्थिक हैसियत परिवारसँग थिएन । यधपी उनी हार मानेनन् । अर्कोपटकको प्रवेश परीक्षाका लागि निरन्तर अध्ययन जारी राखे ।

तर एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम ननिस्किए धेरै समय खेर फाल्नु हुँदैन भन्दै अन्य फ्याकल्टी पढ्न पनि पारिवारिक दबाब बढ्यो । यसले २०८१ मा उनले एमबीबीएससहित बीडीएस, बीएएसएलपी, बीपीएच र बीएएनएस गरी पाँचवटा विषयको प्रवेश परीक्षा दिए । त्यसपछक एमबीबीएस बाहेक सबै विषयमा उनी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए । एमबीबीएसमा भने परीक्षा पास गरे पनि पूर्ण छात्रवृत्तिमा परेन । रकम तिरेर पढ्न नसक्ने अवस्था यथावत् रहेपछि उनी फेरि निराश बने । यसपछि उनी दोधारमा परे ।

समय खेर फाल्नु हुँदैन भनेर निराश उनी बीडीएसमै नामांकन गराउन काठमाडौं पुगे । तर, एमबीबीएस बाहेक अन्य विषय पढ्न चित्त बुझेन । उनी अलमलमा परे । र अन्ततः उनले फेरि एकपटक कोचिङ गरेर एमबीबीएसमा पूर्ण स्कलरसिपमा नाम निकाल्न प्रयास गर्ने निर्णय लिए ।

‘गत वर्ष म बीडीएसमा नामांकन गराउन काठमाडौं पुगेको थिएँ । तर चित्त बुझेन । दोधारमा परे । पछि एकपटक ऋण काढेरै भएपनि काठमाडौंमै बसेर अझै मेहनत गरेर एमबीबीएस प्रवेश परीक्षा दिन्छु भन्ने निधो गरें । नाम निस्केन भने मात्रै अर्को विकल्प सोच्ने योजना बनाए’ पवनदेव विगत सम्झन्छन् ।

गाउँघरबाट ऋण सापट गरेर उनी काठमाडौं बसे । एक कोचिङ संस्थामा छ महिना तयारी गरे । २०८२ मा उनले पुनः एमबीबीएस र बीडीएसको प्रवेश परीक्षा दिए । यसपटक तेस्रो प्रयासमै पवनदेवको नाम एमबीबीएस र बीडीएस दुबैमा पूर्ण छात्रवृत्तिसहित निस्कियो । एमबीबीएसमा मधेशी तथा दलित कोटामा ।

एमबीबीएसको पूर्ण छात्रवृत्तिमा नाम निस्किँदा पवनदेव अत्यन्त उत्साहित भए । तर, खुशीसँगै चिन्ता र चुनौती थपियो । कारण, नामांकन प्रक्रियामा मात्रै कम्तीमा ७५ हजार रुपैयाँ बुझाउनुपर्ने भयो । आर्थिक अभावबीच संघर्ष गर्दै आएका पवनदेवका लागि यो रकम जुटाउनु अर्को ठूलो चुनौती बन्यो ।

आफ्नो समस्या पवनदेवले मुसहर समुदायका युवा अगुवा पचु माझीसमक्ष राखे । पचु माझीको पहलमा सामाजिक सञ्जालमार्फत पवनदेवका लागि आर्थिक सहयोग संकलन अभियानबाटट विभिन्न सहयोगी हातहरूबाट एक लाख रुपैयाँ सहयोग जुट्यो । यसैबाट पवनदेव विपी कोइराला विज्ञान प्रतिष्ठान, धरानमा करिब ८० हजार रुपैयाँ खर्च गरेर एमबीबीएसमा नामांकन गराउन सफल भएका छन् ।
तर यसले समस्या टरेको छैन । छ वर्षे एमबीबीएस अध्ययनका क्रममा लाग्ने होस्टेल शुल्क, शिक्षण सामग्री तथा अन्य खर्च गरी करिब १५ लाख रुपैयाँ कसरी जुटाउने भन्ने चिन्ताले उनलाई अझै पछ्याइरहेको छ । बुबाको सीमित आम्दानीले यति ठूलो खर्च धान्न सकिन्छ कि सकिँदैन भन्ने आशङ्काले पवनदेव चिन्तित छन् ।

‘बुबा वृद्ध हुनुभयो । विदेशको मजदुरीबाट हुने कमाइ पनि सीमित छ । मासिक करिब २० हजार रुपैयाँ जति खर्च कटाएर मात्रै घर पठाउनु हुन्छ । यही रकमले घर चलाउनु पर्छ । ६ वर्षमा लाग्ने १५ लाख जति खर्च कसरी जुटाउने होला,’ पवनदेव चिन्ता सुनाउँछन् ।
पवनदेवले सहयोगी मनहरू र सरकारबाट थोरै–थोरै आर्थिक सहयोग जुट्न सके एमबीबीएसको पढाइ सहज हुने आशा व्यक्त गरे । ‘समाजमा धेरै सहयोगी मनहरू हुनुहुन्छ भन्ने विश्वास मलाई छ । सरकार छ । चिकित्सक बन्ने मेरो संकल्पमा सहयोग गरिदिन सबै सहयोगी मनहरूमा आग्रह गर्दछु’ उनको अनुरोध छ ।

चिकित्सक बनेर सेवा गर्दै पिछडिएका वर्ग समुदायको उत्थान आफ्नो जीवनको लक्ष्या रहेको पवनको भनाइ छ ।
पवन तिनै व्यक्ति हुन् जसले पुनरजन्म पाएका हुन् । उनका आमा सृजनादेवीका अनुसार उनी ८ वर्षको हुँदा पवनदेव गाउँकै पोखरीमा डुेबका थिए । करिब दुईघण्टापछि उनलाई पोखरीबाट झिकिएको थियो । गाउँलेहरुले मृत्यु भइसक्यो भनेर अन्त्येष्टी गर्न भन्दै थिए । तर कतिपयले एकपटक उपचार गराउनु पर्छ भन्ने जोडबल गरे । उपचारपछि उनी बाँच्न सफल भएको आमा सिर्जनाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *