टुडेपाटी-
जनकपुरधाम, कार्तिक ३० गते ।
मधेशको लाइफलाइन मानिने हुलाकी सडक अन्तर्गत धनुषा र सिरहा जिल्लको कमल नदीमा निर्माणाधीन पुलमा चरम लापरबाही भएको पाइएको छ । पुल भासिनुमा डिजाइन र कन्ट्रक्सन फल्ट प्रमुख कारण रहेको खुलेको छ । हुलाकी राजमार्गमै पर्ने सिरहा र सप्तरी जोड्ने बलान खोलाको डिपीआरको नक्कल कमला पुल निर्माण गर्दा प्रयोग गरिएको अख्तियार दुरुपयोग अनुसन्धानले पत्ता लगाएको हो ।
कमला पुल निर्माणको माटो परीक्षण अनुसार ३० मिटर पाइलिङ गर्नुपर्ने थियो । तर बलान पुलकै डिजाइनमा १४.५ मिटर मात्रै पाइलिङ स्वीकृत भयो । तर त्यसमा पनि कम गरेर ठेकेदारले ८ मिटर गहिरो मात्र पिलरहरु गरेको अनुसन्धान र परीक्षणबाट देखिएको अख्तियारको निष्कर्ष छ ।
अर्कै पुलको लागि गरेको डि.पी.आर. नक्कल गरी बनाएकोले कामै नलाग्ने गरी पुल भासिएको उजुरी तीनवर्ष अघि अख्तियारमा परेको थियो ।

भू–प्राविधिक प्रतिवेदनले पुल क्षेत्रमा १० मिटर कटान गहिराइ रहने देखाएकाले पाइल फाउण्डेशन कम्तीमा २० मिटर हुनुपर्छ भनेर स्पष्ट सिफारिस गरिसकेको थियो ।
अख्तियारले पप्पु–लुम्बिनी जेभीले पुनस्र्थापनाका लागि पेश गरेको संशोधित डिजाइन, नक्सा र प्रतिवेदनको समेत अध्ययन गरेको थियो । उक्त अध्ययनमा सुरुमा पेश गरिएको भू–स्तर विवरण र पछि पेश गरिएको विवरण मेल नखाने, फरक–फरक माटोका तह देखाइएको, जसका कारण जगको डिजाइन नै फरक पर्ने अवस्था बनेको पाइएको छ ।
संशोधित डिजाइन अनुसार फाउण्डेशनमा भएका पाइलहरूको लम्बाइ पहिलेको भन्दा १५.५ मिटरले बढी देखिएको छ । यसले प्रारम्भिक डिजाइन गलत भएको मात्र होइन, त्यसै अनुसार निर्माण गरिएको पुलको सम्पूर्ण संरचना नै गम्भीर जोखिममा रहेको आयोगको निष्कर्ष छ ।
अख्तियारले विस्तृत अनुसन्धान गरी मिसिल थन्काएको छ । तर अहिलेसम्म अभियोजन भने गरेको छैन । पुल नबन्दा सिरहा, धनुषा, सप्तरी, महोत्तरीको लाखौं नागरिकले सास्ती भोग्न बाध्य छन् । तर नत सम्बन्धित निकायले समयमा पुल बनाएको छ, नत ठेकेदारलाई कारबाही गरेको छ । नत सरकारले अर्को नयाँ पुल बनाउन कुनै चाँसो देखाएको छ । नत अख्तियारले नै मुद्दा अभियोजन गरी दोषी उपर कारबाही प्रक्रिया अगाडि बढाउन सकेको छ । अख्तियारका एक अधिकारी भन्छन् ‘विस्तृत अनुसन्धान गर्दासम्म पुल निर्माणमा चरम लापरबाही देखिएको तथ्य र निष्कर्ष छ । यो ठूलो अपराध हो । तर किन मुद्दा पेण्डिंग परेको हो भन्न सकिन्न’
कमला नदीमा पुलन नबन्दा दिनहु हजारौं नागरिक कष्टकर यात्रा गर्न बाध्यछन् । नभए पूर्वपश्चिम राजमार्गबाट तेव्वर यात्रा गरेर मात्र जनकपुरबाट सिरहा र सिरहाबाट जनकपुर आउन सकिने अवस्था छ ।
भासिएको पुल चारवर्षदेखि मर्मत गर्ने काम भइरहेपनि कहिले पूरा हुने टुंगो छैन । २०६८ साल जेठ ३१ गते सम्झौता भएको यो पुल डिजाइन एण्ड बोल्ड मोडालिटीमा पप्पु÷लुम्बिनी जे.भी.ले बनाइरहेको छ । ४६९.२ मिटर लम्बाइ र १२ स्पान भएको यो पुल निर्माण २०७१ मंसिर ३० भित्रै सकिनुपर्ने थियो । २४ करोड ९० लाख ९७ हजार २ सय रुपैयाँ (भ्याटसहित) मा सम्झौता भएको पुलमा हालसम्म २० करोड ४२ लाख ५२ हजार ४७ रुपैयाँ भुक्तानी भइसकेको हुलाक सडक निर्देशनालयले जनाएको छ ।
बढीले पुलको पुर्वतिरबाट पहिलो र दोस्रो पिलर भाँसिएको थियो । यस्तै पहिलो, दोस्रो, दशौं र एघारौं सल्याब क्षति भएको छ । पुल निर्माणको समय सीमा पछिल्लो समय थप गरी २०८३ असार ३० सम्म पुर्याइएको छ ।
हुलाकी सडक निर्देशनालयका निर्देशक कष्णकुमार महतोका अनुसार टुटे र भाँसिएको ठाउँमा पुनर्निर्माण कम्पनीले गरिहेको छ । सञ्चालनमाआइसकेको पाँच वर्षसम्म कुनै क्षतिभएको खण्डमा बनाउनु पर्ने दायित्व कम्पनीलाई नै रहेको सम्झौतमाउल्लेख छ ।
बिमा संस्था संगको विवाद देखाई क्षतिपूर्ति बापतको रकम प्राप्त नभएसम्म निर्माण कार्यलाई गतिदि नसक्ने निर्माण कम्पनीले देखाइरहेको छ । त्यस कारण समयमा पुनरनिर्माण गर्नु चुनौती रहेको निर्देशनालयले जनाएको छ । तर, पुल पुननिर्माण गरेर संचालन हुने स्थिति देखिँदैन । स्थानीयहरुले यो पुल काम नलाग्ने अवस्था रहेकाले अर्को नयाँ पुल निर्माण गर्नुपर्ने माग गरिरहेका छन् ।