प्रदेश २ मा आइसोलेसनको अभाव भएपछि क्वारेन्टाइनमै संक्रमित
टुडेपाटी-
जनकपुरधाम, जेठ १० गते ।
शनिबार सर्लाहीमा एकैपटक १३ जना कोरोना संक्रमित थपिए । सर्लाहीको गोडैता नगरपालिकामा १२ र कविलासी नगरपालिकामा १ गरि १३ जना कोरोना संक्रमित बढेपछि जनकपुर तथा वीरगन्जको आइसोलेसन कक्षमा बेड अभाव भएपछि उनीहरूलाई क्वारेन्टाइनमै राखिएको छ ।
प्रादेशिक अस्पताल जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गण्डक अस्पतालको आइसोलेसन कक्षमा बेड अभाव भएपछि सर्लाहीमा पुष्टि भएका संक्रमितलाई शनिबार अपराह्नसम्म क्वारेन्टाइनमै राखिएका थिए ।
गोडैतामा कोरोना पुष्टि भएकाहरु शनिबार अपराह्नसम्म क्वारेन्टाइनमै थिए । त्यस्तै कविलासीका संक्रमितलाई काठमाडौं पुर्याइएको छ । उनीहरु सबै केही दिनअघि भारतको विभिन्न स्थानबाट घर फर्केका हुन् ।
संक्रमितलाई जनकपुर तथा वीरगन्ज पठाउने तयारी गरिए बेड अभाव र उनीहरुले नमानेपछि अहिलेसम्म क्वारेन्टाइनमै राख्नु परेको गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले जानकारी दिए । सदरमुकाम मलंगवामै आइसोलेसन कक्ष बनाउने तयारी गरिएको उनले बताए ।
Sponsored
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार मलंगवा नगरपालिका–२ मा रहेको नर्सिङ कलेजमा ५० बेड क्षमताको आइसोलेसन कक्ष बनाउन हो । आइसोलेसन कक्ष तयार भएपछि संक्रमितलाई जिल्लामै तयार गरिएको आइसोलेसन कक्षमा ल्याएर राखिने उनले जानकारी दिए ।