नेविसंघद्वारा सरकार र अख्तियारविरुद्ध जनकपुरधाममा प्रदर्शन
टुडेपाटी-
जनकपुरधाम, माघ २६ गते ।
कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल धनुषाले संयुक्त रुपमा अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गराएको विरोधमा जनकपुरमा प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका नेता विजयकुमार गच्छदारमाथि चलाएको मुद्दा फिर्ता लिनुपर्ने भन्दै आइतबार प्रदर्शन गरेको हो ।
प्रदर्शनमा कांग्रेसका नेताहरू समेत सहभागीता रहेको थियो । कांग्रेसका नेताहरूले पूर्वाग्रही ढंगले मुद्दा चलाउन पाइँदैन, कम्युनिस्ट सरकार र अख्तियार मुर्दावाद, गच्छदारमाथि चलाएको मुद्दा फिर्ता लेऊ जस्ता नारा लगाएका छन् । जनकपुरको गोपाल धर्मशाला अगाडिबाट निकालेको विरोध र्याली जनकपुरको विभिन्न भागमा परिक्रमा गरेको छ । नेता गच्छदारमाथि पूर्वाग्रह राखेर नियोजित ढंगले भ्रष्टाचार मुद्दा चलाएको भन्दै नेताहरूले सरकारको आलोचना गरेका छन् । सरकारले तत्कालीन प्रधानमन्त्री माधव नेपाल र नेता विष्णु पौडेललाई बचाएको र पूर्वाग्रही ढंगले नेता गच्छदारलाई फसाएको कांग्रेस महासमिति सदस्य नरेश यादवले आरोप लगाए ।
उनले मुद्दा स्वीकार गर्न नसकिने भन्दै फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । विरोध र्यालीमा कांग्रेस जिल्ला सचिव विषेश्वर यादव, नेता कन्हैया कर्ण, महासमिति सदस्य भोला पजियार, नेविसंघका नेता संजिप यादव, तरुण दलका जिल्ला उपसभापति राकेश बिक्रम साहलगायतको सहभागिता थियो ।
र्यालीमा सहभागी उनीहरूले आख्तियार अनुसन्धान आयोगलाई नेकपा आयोग नबनाउन सरकारसँग अनुरोध समेत गरेका थिए । नेविसंघ र तरुण दलले शनिबार पनि जनकपुरमा सरकार र अख्तियारविरुद्ध प्रदर्शन गरेका थिए।