प्रदेश २ : तीन ठाउँमा रियल टाइम पीसीआर मेसिनबाट परीक्षण
टुडेपाटी-
जनकपुरधाम, जेठ ९ गते ।
प्रदेश २ कोरोना संक्रमणको ‘हटस्पट’ रहेकोले ३ ठाउँबाट कोरोना परीक्षण गरिने भएको छ । तीनवटै ठाउँबाट रियल टाइम पीसीआर मेसिनबाट परीक्षण गर्ने तयारी गरिएको हो ।
यसअघि प्रदेशको पश्चिमी भाग वीरगञ्जमा मात्रै रहेको रियल टाइम पीसीआर मेसिन अब जनकपुरधाम र राजविराजमा समेत जडान हुने भएको प्रादेशिक प्रयोगशाला प्रमुख रामविनय साहले जानकारी दिए । यी दुवै ठाउँका लागि मेसिन आइपुगेको साहले बताए ।
त्यसैगरी प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहका अनुसार जनकपुरधामस्थित पशुरोग अन्वेशन प्रयोगशालामा पीसीआर जडान गरिनेछ भने राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा जडान गरेर परीक्षण थालिने छ ।
‘मेसिन आएर जडान गर्ने काम सुरु भएको छ,’ उनले भने, ‘सम्भवतः सोमबारदेखि नै यो दुबै मेसिन संचालनमा आउनेछ ।’
प्रदेश सरकारले आफैं खरिद गरेको यी मेसिनबाट ४ घण्टामा ९६ जनाको कोरोना परीक्षण गर्न सकिने मन्त्री साहले जानकारी दिएका छन् ।
Sponsored
मेसिन जडान गर्नका लागि प्रदेश सरकारले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजलाई ५० लाख दिने भएको छ । यो रकमले अस्पतालले ल्याब संचालन, जनशक्ति परिचालन तथा औषधि एवम् अन्य सामग्री खरिद गर्नेछन् ।
पर्साका वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई पोषणयुक्त खाना र खाजाको व्यवस्थापनाका लागि प्रदेश सरकारले २५ लाख निकासा गरेको छ ।
यसअघि जनकपुरधाममा ल्याइएको दुई वटा पीसीआर मेसिन बन्द भएको छ । ती दुई मेसिनबाट गरिएको जाँच यहाँ नेगेटिभ देखिए पनि काठमाडौं पठाउँदा पोजेटिभ देखिन थालिएपछि दुवै मेसिनबाट परीक्षण बन्द भइसकेको छ ।