१५ दिने मिथिला मध्यमा परिक्रमा सम्पन्न, मिथिलाञ्चलमा भोलि होली
टुडेपाटी-
जनकपुरधाम, चैत १ गते
मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न भएको छ। बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गरिसकेपछि १५ दिने यो धार्मिक पदयात्रा समापन भएको हो । यस वर्षको परिक्रमा यात्रामा लाखौं श्रद्धालु सहभागी भएका थिए ।
धार्मिक जनविश्वास अनुसार, विभिन्न रोग, दुःख, कष्ट तथा समस्याबाट मुक्त हुन र इच्छित फल प्राप्त गर्न हजारौं भक्तजन परिक्रमा यात्रा गर्ने गर्दछन्।
फागुन औंसीका दिन धनुषाको मिथिला बिहारी नगरपालिका–८ स्थित मिथिला बिहारी मन्दिरबाट मिथिला बिहारीको डोला सहित परिक्रमा प्रारम्भ गरिएको थियो। १५ दिने यस परिक्रमा क्रममा जनकपुरको हनुमान नगर, बिहारको कलना स्थित कल्याणेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुणा (भारत), विसौल (भारत) हुँदै अन्ततः अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रमा गरि परिक्रमा समापन गरिएको छ।
माध्यमिकी परिक्रमा गर्न नसकेका धेरै श्रद्धालु अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रमा गर्ने गर्दछन्। यस परिक्रमामा युवायुवतीहरुको उल्लेखनीय सहभागिता देखिएको थियो।
परिक्रमा यात्रामा राम–जानकीको डोला सहित परम्परागत बाजागाजा र मौलिक भेषभूषामा लाखौं श्रद्धालु सहभागी भए। टायर गाडा, साइकल तथा टाउकोमा आवश्यक सामग्री बोकेर प्रत्येक दिन नयाँ गन्तव्यतर्फ यात्रा गर्ने परम्परा रहेको छ। यात्रीहरूले भुइँ खनेर चुलो बनाउने, खाना पकाउने, भजन–कीर्तन गर्ने तथा धर्मकर्ममा संलग्न हुने गर्दछन्। यात्राका प्रत्येक विश्रामस्थलमा स्थानीयबासीहरूले मेला आयोजना गर्ने परम्परा रहिआएको छ।
नेपालका धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारका सितामढी, मधुबनी, दरभंगा जस्ता क्षेत्रबाट हजारौं वृद्धवृद्धा तथा अन्य श्रद्धालु परिक्रमा यात्रामा सहभागी भएका थिए।
अन्तरगृह परिक्रमा सम्पन्न भएसँगै भोलि जनकपुरधाम सहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा होली पर्व हर्षोल्लासका साथ मनाइनेछ। परिक्रमा समापनको भोलिपल्ट होली मनाउने परम्परा मिथिला क्षेत्रमा रहिआएको छ।