संविधान संशोधन गर्ने सरकारको निर्णय
टुडेपाटी-
काठमाडौं, जेठ ९ गते ।
सरकारले संविधान संशोधन गर्ने निर्णय गरेको छ । नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेश गर्ने निर्णय गरेको हो ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्न प्रतिनिधिसभामा प्रस्ताव लैजाने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले जानकारी दिएकी छन् ।
अहिले उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन । सरकारले बुधबार भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरेको थियो ।
संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ ।
संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ । प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ ।
Sponsored