TodayPati

आज महाशिवरात्रि मनाइँदै

टुडेपाटी
जनकपुरधाम, फागुन १४ गते ।

आज देशभर महाशिवरात्रि पर्व भक्तिपूर्वक मनाइँदैछ। भगवान शिवको आराधना गर्न भक्तजनहरू बिहानैदेखि शिवालयहरूमा पूजापाठमा व्यस्त छन्।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले बिहानै नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पूजा–अर्चना गरिरहेका छन्। जनकपुरको कपिलेश्वरनाथ महादेव, धनुषाको क्षिरेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वरनाथ महादेव, टुटेश्वरनाथ महादेव लगायतका मन्दिरमा विशेष भीड देखिएको छ।

शिवपुराणलगायतका ग्रन्थहरूमा उल्लेख गरिएअनुसार, महाशिवरात्रि भगवान शिवको उत्पत्तिसँग सम्बन्धित चार प्रमुख पवित्र रात्रिमध्ये एक मानिन्छ। यस दिनलाई धर्मको उदय गराउने आशुतोष भगवान शिवको प्रिय दिनका रूपमा लिइन्छ।

शिवरात्रिको अवसरमा भक्तजनहरूले व्रत बस्ने, शिवलिंगमा दूध, धतुरो, र बेलपत्र चढाउने परम्परा निर्वाह गर्छन्। यस रात जाग्राम बसेर भगवान शिवको भजन–कीर्तन गर्नाले सर्वसिद्धि प्राप्त हुने र यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ।

शिवरात्रिका अवसरमा भगवान शिवलाई जाडो नहोस् भन्ने जनविश्वासअनुसार गाउँ–सहरका चोक, मठ–मन्दिरमा धुनी जगाइन्छ। भक्तजनहरू भजन–कीर्तन गर्दै त्यसै आगोमा प्रसाद बनाई ग्रहण गर्छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *