बमकाण्डका आरोपी पुर्वमन्त्री अफताब आलमको घरमा प्रहरीको छापा, १२ राउण्ड हवाई फायर
टुडेपाटी
जनकपुरधाम, जेठ ९ गते ।
प्रहरीले मध्यरातमा पुर्वपक्षकालागि थुनामा रहेका राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलमको घरमा छापेमारी गरेको छ । सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राति १२ बजे राजपुरमा रहेको आफताब आलमको घरमा पुगेको थियो । महताब अफताब आलमका भाइ हुन् ।
गए राति १२ बजे बाराको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी गोविन्द पुरीको कमाण्डमा ठूलो संख्यामा प्रहरीले राजपुर नगरपालिका ४ राजपुर फरहदवास्थित पूर्व मन्त्री आलमको घरमा खानतलास गरेका हुन्। घरका सबै सदस्य सुतिसकेको अवस्थामा प्रहरीले आलमको गेटलाई बलजफ्ती खोलेर घरभित्र पसी एक घन्टासम्म खानतलासी गरेका थिए। टर महताव भने भेटिएनन्।
‘बमकाण्डका फरार अभियुक्त महताब आलम घरमा रहेको गोप्य सूचना हामीलाई प्राप्त भएको थियो’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक रविराज खड्काले भने ‘निजलाई पक्राउ गर्न प्रहरी टोली आफताब आलमको घरमा गएको थियो ।’ खानतलासीका क्रममा परिवारजन र स्थानीयले प्रहरीलाई अवरोध गरेपछि प्रहरीले हवाई फायर समेत गरेको उनले बताए ।
अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि हातपात हुन खोजेपछि १२ राउण्ड गोली हवाई फायर गरेको प्रहरी उपरीक्षक खड्काले बताए । ‘हामीले खोजेको व्यक्ति महताब आलम फेला परेनन्’ उनले भने ‘फरार रहेका सबैको खोजी कार्य जारी छ ।’
राजपुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साहलयायतका व्यक्ति प्रहरीको फरार सूचीमा छन् ।
घरभित्र पूर्वमन्त्री आलम र भाइ महताब आलमका पत्नी तथा बालबच्चाहरु मात्र रहेको पाइएको प्रहरीको भनाइ छ। गलत सूचनाको आधारमा प्रदेश प्रहरीले मध्यरातमा आलमको घरमा छापामारी गर्न पुगेकोमा ठूलो क्षति हुनबाट जोगिएको छ।
Sponsored
मध्यरातमा प्रहरीले आलमको घर घेरामा पारी प्रहरी घरभित्र पसेको सूचना गाउँमा आगो झैँ फैलिएपछि हजारौँको संख्यामा स्थानीयबासीले प्रहरीलाई नै घेराबन्दीमा पारेका थिए। प्रहरीले दर्जनौँ राउन्ड हवाई फायर गरेपछि बल्ल उम्कन सफल भएको थियो।
रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले घटनाको विषयमा आफूले बिहानमात्र थाहा पाएको र रौतहट प्रहरीले छापामारी नगरेको बताएका छन्। आफूले बिहानमात्र प्रदेश प्रहरीले स्थानीय प्रहरीसित समन्वय नगरी तथा प्रजिअलाई जानकारी नगराई महताब आलमलाई पक्राउ गर्न छापामारी गरेको सुनेको बताएका छन्।
प्रदेश नम्बर दुईका प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले प्रदेशको टोली पुगेर आलमको घरलाई घेरा हाली छापा मारेको स्वीकार्दै घरमा छापा मार्ने क्रममा स्थानीयले अवरोध गरेपछि स्थितिलाई नियन्त्रणमा लिन केही राउन्ड गोली चलाउनु परेको पनि स्वीकार गरेका छन्।