सिरहाकी रिंकु सदा मृूत्यु प्रकरण : चार मुद्दामा ८ जनाविरुद्ध पूरक जाहेरी
टुडेपाटी-
जनकपुधराम, फागुन ८ गते ।
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु कुमारी सदाको मृत्यु प्रकरणमा ८ जनाविरुद्ध पूरक जाहेरी दर्ता गरिएको छ।
पीडित परिवारले सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा संलग्न व्यक्तिहरूविरुद्ध चारवटा मुद्दा दायर गर्दै इलाका प्रहरी कार्यालय, लहानमा जाहेरी दिएको छ। जाहेरीमा कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक, र लेनदेन मिलापत्र गरी चारवटा आरोप समेटिएको छ।
परिवारका अनुसार, सामूहिक बलात्कारमा संलग्न तीन जनासहित घटनालाई गाउँमै मिलाउन खोज्ने पाँच जना पञ्चमाथि जाहेरी परेको छ।
सिरहाका प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार, पूरक जाहेरी दर्ता भइसकेको छ र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। उनले भने, ‘अहिलेसम्म कोही पक्राउ परेका छैनन्। फरार भएकाहरूको खोजी जारी छ।’
गत माघ ३० गते रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। अनुसन्धानका क्रममा माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी उनलाई सामूहिक बलात्कार गरिएको खुलेको छ।
घटना मिलाउन गाउँमा पञ्चायत बसेको खुलेको छ। वडासदस्यसहितका स्थानीयको संलग्नतामा माघ २९ र ३० गते पञ्चायती बैठक बसेर पीडकहरूबाट १ लाख ४० हजार रुपैयाँ जरिवाना तिराउने तथा पीडित पक्षलाई प्रहरीमा जान नदिने निर्णय गरिएको थियो। मधेश प्रदेश प्रहरी कार्यालयले घटनाबारे छानबिनका लागि समिति गठन गरी अनुसन्धान अघि बढाएको छ।