मुख्यमन्त्री सिंहद्वारा वीरगन्जका दुई क्यासिनोमा छड्के, एकजना पक्राउ
टुडेपाटी-
जनकपुरधाम, फागुन ७ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले वीरगन्जस्थित आदर्शनगरमा रहेको लर्डस् दियालोको किङ्स क्यासिनो र होटल सुरजको क्यासिनोमा छड्के अनुगमन गरेका छन् ।
नेपाली नागरिकहरू क्यासिनोमा जुवा खेलेर गम्भीर सामाजिक, आर्थिक र मानसिक सङ्कटमा परिरहेको तथा पछिल्लो समय एक नेपालीले ४० लाख रुपैयाँ गुमाएको खबर पाएपछि मुख्यमन्त्री सिँहले बुधबार अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा होटल सुरजको क्यासिनोबाट जुवा खेलिरहेका एक नेपाली नागरिकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको छ । कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा रोक लगाइए पनि व्यवस्थापन पक्षबाट उचित अनुगमन नभएको पाइएको छ ।
मुख्यमन्त्री सिँहले क्यासिनो व्यवस्थापनलाई पछिल्लो एक महिनायता प्रवेश गरेका व्यक्तिहरूको परिचयपत्रसहितको प्रविष्टि सूची, एक साताको सिसिटिभी फुटेज तथा कर्मचारी विवरण८ लगायतका कागजात लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित हुन निर्देशन दिए।
अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै उनले क्यासिनो सुरक्षाका दृष्टिकोणले संवेदनशील भए पनि व्यवस्थापकीय पक्ष सन्तोषजनक नभएको बताए । साथै, प्राप्त दस्तावेजको अध्ययन तथा विश्लेषणपछि थप कानुनी कारबाही अघि बढाइने जानकारी दिए ।