माओवादी आज ‘जनयुद्ध’ दिवस मनाउँदै, सबैलामा सार्वजनिक बिदा
टुडेपाटी-
जनकपुरधाम, फागुन १ गते ।
तत्कालीन दश वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीहरूले आज ३० औं ‘जनयुद्ध दिवस’ मनाउँदै छन् । २०५२ साल फागुन १ गते माओवादीले देशभर विद्रोह सुरु गरेको दिनको स्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाइन्छ ।
यसअघि सरकारद्वारा प्रदान गरिँदै आएको सार्वजनिक बिदा यस वर्षदेखि हटाइएको छ । सर्वोच्च अदालतले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा नदिन आदेश जारी गरिसकेको छ ।
तर, माओवादी केन्द्रको नेतृत्वमा रहेका केही स्थानीय तहहरूले भने सार्वजनिक बिदा दिएका छन् । धनुषाको सबैला नगरपालिकाले आज जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । नगरपालिकाका मेयरले बुधबार एक विज्ञप्ति जारी गर्दै फागुन १ गते सार्वजनिक बिदाको घोषणा गरेका थिए ।
यस अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध नेपाली जनताको ऐतिहासिक संघर्षको प्रतीक भएको बताएका छन् । उनले भने, “अहिलेको पुस्तालाई जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि हासिल गर्यो भन्ने प्रश्न उठ्न सक्छ। तर, जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं भन्ने बुझ्नु जरुरी छ।”