TodayPati

साउदीमा ६ वर्षदेखि उद्धार कुरिरहेका धनुषाका कृष्णको मृत्यु, आमाको अन्तिम धोको अधुरै

टुडेपाटी-
जनकपुरधाम, पुस २४ गते ।

साउदी अरेबियामा ६ वर्षदेखि उद्धारको प्रतीक्षा गरिरहेका धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजका ४० वर्षीय कृष्णकुमार यादवको निधन भएको छ । जनवरी २ तारिख (पुस १८ गते) दमामस्थित साउद अल बपतानिया अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

साउदीस्थित नेपाली राजदूतावासका प्रतिनिधि नारायण पासवानले कृष्णको निधन पुष्टि गर्दै उनको शव नेपाल ल्याउन प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

Sponsored

साथी स्फाक खानका अनुसार, डिसेम्बर २७ को राति कृष्णको अचानक छाती दुखेपछि उनलाई दमामको अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकले हृदयघात भएको पुष्टि गर्दै शल्यक्रियाको सिफारिश गरेका थिए । शल्यक्रियापछि उपचारकै क्रममा जनवरी २ मा कृष्णको निधन भएको सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दीपुर घर भएका कृष्णका साथी अजय पासवानले बताए ।

कृष्णका ७५ वर्षीय बुबा बिल्टु यादवले छोरा जीवितै फर्काउन धेरै प्रयास गरे। उनकी ७१ वर्षीया आमा जीवछी यादव मुटुको क्यान्सरबाट पीडित छन् । मृत्यु अघि आमा जिवछी छोरा कृष्णको अनुहार हेर्ने आशामा थिइन् । अब यो धोको अधुरै रहने भएको छ।

कृष्णका एक छोरा र पाँच छोरी छन ्। जेठी छोरीको विवाह भइसकेको छ । कृष्ण विदेशमा कम्पनीको काममा फँसेर भौतारिदा घरको आर्थिक अवस्था बिजोगले छोराछोरी पढ्न पाएका छैनन् । उनका १७ वर्षीय छोरा विनोद र अन्य छोरीहरू आमासँगै कष्टकर जीवन बिताइरहेका छन्।

Sponsored

कृष्ण २०१८ मा एएस इन्टरनेशनल ग्रुपमार्फत साउदी पुगेका थिए । सउदी अरेबियाको अल–रहमान अब्दुल्लाह अल–हरबी अलबाकरिया कम्पनीमा उनले ट्रक चालकको काम गर्थे । तर कम्पनीले उनलाई चालक अनुमतिपत्र उपलब्ध गराएको थिएन । त्यस क्रममा भागेपछि उनी अलपत्र परे । कम्पनीले कानुनी कागजात नबनाई झूठा मुद्दा हालिदियो । दूतावासमा बारम्बार गुहार लगाउँदा पनि उनले कुनै सहयोग पाएनन् । सामाजिक अभियन्ता सरोज रायले कृष्णको उद्धारका लागि नेपाली सरकार र दूतावासलाई बारम्बार अनुरोध गरे । तर, दूतावासको लापरबाहीले कृष्णको उद्धार हुन सकेन।

बुबा बिल्टु छोराको शव नेपाल ल्याउन सरकार र सम्बन्धित निकायलाई तत्काल सहयोग गर्न आग्रह गरेका छन् । ‘सरकार र सम्बन्धित पक्षले चाहेको भए समयमै मेरो छोरा सकुशल फर्किन सक्थ्यो । मैले धेरै ठाउँमा प्रयास गरे । गुहार लगाएँ । तर अन्ततः छोरा विदेशमै ज्यान गुमाए’ बिलाप गर्दै बुबा बिल्टुले भने ‘अब मरेको छोराको लास समयमा ल्याइदेउ सरकार । मर्न लागेकी आमालाई मृत छोराको अनुहार देखाइदेउ सरकार’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *