प्याब्सन धनुषाको अध्यक्षमा नवल यादव निर्वाचित
टुडेपाटी
जनकपुरधाम, पुस १३ –
संस्थागत विद्यालयहरुको संगठन प्याब्सन धनुषाको अध्यक्षमा नवल यादव निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न निर्वाचनमा यादवले ७६ मत प्राप्त गर्दै आफ्नो विजय सुनिश्चित गरे। उनका निकटतम प्रतिद्वन्द्वी संजीवकुमार यादवले ३७ मत मात्रै प्राप्त गरे।
सचिव पदको प्रतिस्पर्धामा नारायण बास्तोला ५७ मत प्राप्त गरी विजयी भएका छन्, जबकि उनका प्रतिद्वन्द्वी रामपुकार यादवले ५६ मत पाए।
वरिष्ठ उपाध्यक्षसहितका अन्य पदहरू भने सर्वसम्मत चयन गरिएको छ। वरिष्ठ उपाध्यक्षमा राजकुमार कर्माचार्य, उपाध्यक्षमा दिवाकर झा, सहसचिवमा विमलेश कुमार पासवान, कोषाध्यक्षमा श्रवण कुमार महतो, र सहकोषाध्यक्षमा रामपुकार ठाकुर निर्वाचित भएको प्रदेश प्याब्सन सचिव गणेश कुमार शाहले जानकारी दिए। सदस्य पदमा कृष्णकुमार लामा, अजय कुमार साह, विरेन्द्र कुमार यादव, किशोरी महतो, र विष्णु प्रसाद अधिकारी चयन भएका छन्।
धनुषा जिल्लाका प्याब्सनमा आबद्ध २०१ विद्यालयमध्ये १२८ विद्यालयले अधिवेशनमा सहभागिता जनाएका थिए। कुल १२८ मतदाता मध्ये ११५ मत खसेको थियो, जसमा दुई मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
अधिवेशन धनुषाको महेन्द्रनगरस्थित बिएनबी पार्टी प्यालेसमा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी उपस्थित थिइन्। कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख राजनन्दन मण्डल, प्याब्सन केन्द्रीय कमिटीका उपाध्यक्ष टिआर ढकाल, र महासचिव आर.बी. कटवालको विशेष उपस्थिति रहेको थियो।
Sponsored