कटहरिया नगरपालिकामा जनप्रतिनिधिद्वारा तालाबन्दी
टुडेपाटी-
जनकपुरधाम, पुस १० गते ।
रौतहटको कटहरिया नगरपालिकामा कार्यालयमा तालाबन्दी भएको छ । उपमेयर रिता देवी यादवको नेतृत्वमा मङ्गलवार कर्मचारीहरूलाई कार्यालयबाट बाहिर निकालेर तालाबन्दी गरिएको हो । घर–घरमा रजिस्टर घुमाएर हस्ताक्षर गराई गरिएको निर्णय बदर गर्नुपर्ने माग गर्दै तालाबन्दी गरिएको छ ।
जनप्रतिनिधिहरूले मेयर, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा र लेखा शाखामा तालाबन्दी गरेका छन्। उनीहरूले मेयर अजयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले नगरपालिकाको करोडौं रुपैयाँ अनियमितता गर्न लागेको आरोप लगाएका छन्।
गत मङ्सिर २० गते नगर कार्यपालिका बोर्डको बैठक बसेको भए पनि करार कर्मचारी भर्ना र इलाका प्रहरी कार्यालयका प्रस्तावमा सहमति नभएको जनाइएको छ। सहमति नहुँदा बैठक स्थगित भए पनि निर्णय पुस्तिकामा प्रमुख प्रशासकीय अधिकृत जोशीले विभिन्न निर्णय लेखेर हस्ताक्षर गराउन खोजेको उपमेयर यादवको आरोप छ।
मेयर जैसवाल र अधिकृत जोशीको मिलेमतोमा राति घर–घर गएर कार्यपालिका सदस्यहरूसँग हस्ताक्षर गराउने प्रयास भइरहेको जनप्रतिनिधिहरूले बताएका छन्। मेयरले सदस्यहरूलाई प्रलोभन देखाएर हस्ताक्षर गराउन खोजेको कटहरिया–५ का वडा अध्यक्ष सर्फलाल गुप्ताको दाबी छ।
Sponsored