TodayPati

मधेशमा शृङ्खलाबद्ध हत्या घटनाले त्रास

टुडेपाटी-
जनकपुरधाम, पुस ९ गते ।

मधेश प्रदेशमा पछिल्लो समय एकपछि अर्को हत्या घटनाले स्थानीय बासिन्दामा त्रास फैलाएको छ । शनिबार बिहान मात्रै महोत्तरी र बारामा भएका दुई जघन्य हत्या घटना भयो ।
महोत्तरीको मनवरासिसवा नगरपालिका–४ मा ७० वर्षीय पूर्ववडासचिव सुशील झाको डाँका समूहबाट हत्या भयो । झाको घरमा लुटपाट गर्न पुगेका ७–८ जनाको समूहले उनलाई मुक्का प्रहार गरी हत्या गरेको महोत्तरी प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले जानकारी दिए। लुटपाटमा संलग्न डाँकाहरूले सुनका गरगहना र नगद ८० हजार रुपैयाँसमेत लुटेर लगेका छन् । अहिलेसम्म अपराधी पक्राउ भने परेका छैनन् ।

यो घटना बाहिरिएकै केही समय पश्चात बाराको जितपुर सिमरा उपमहानगरपालिका-११ मा बागमती प्रदेश ०१,०२८ च ७६१६ नम्बरको कारभित्र राजकुमार रुम्बा मृत फेला परे । राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको कारमा फेला परेका रुम्बाको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सिमराका निरीक्षक चीरञ्जीवी दहालका अनुसार घटनामा हत्या भएको आशंका गरिएको छ ।

Sponsored


यसअघि शुक्रबार बिहान जनकपुरधामको दुर्गा मन्दिरमा ६१ वर्षीय अरुणकुमार झाको ईंटा प्रहार गरी हत्या भएको थियो । घटनास्थलमा रक्सीका बोतल, चुरोटका ठुटा र रगतले लतपतिएको ईंटा भेटिएको थियो । सामान्य वादविवादका कारण हत्या भएको हुनसक्ने धनुषा प्रहरीको अनुमान छ ।

बिहीबार धनुषाको मिथिला बिहारी नगरपालिका–२ मा बोराभित्र सडेगलेको अवस्थामा एक अज्ञात युवकको शव भेटिएको थियो। युवकको घाँटीमा डाम देखिएकाले हत्या गरेर फालिएको प्रहरीको भनाइ छ । धयपी अहिलेसम्म मृतकको सनाखत नभएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले बताए ।

सर्लाहीको लालबन्दीमा ढुंगा प्रहारबाट घाइते ६५ वर्षीया विष्णुमाया बम्जनको आइतबार मृत्यु भयो । उनलाई ढुंगा प्रहार गरेको आरोपमा वीरबहादुर मोक्तान पक्राउ परेका छन् । पछिल्लो साता मधेशमा सृंखलाबद्ध हत्याको घटना भयो । यसले आम सर्वसाधारण त्रसित बनेका छन् । समाज अनुसरिक्षत बनेको छ ।

Sponsored

महोत्तरीको एकडारा गाउँपालिका–२ का घनश्याम झा चोरीडकैतीको क्रममा व्यक्ति हत्या हुँदा स्थानीय त्रसित रहेको बताउँछन् । ‘डकैतीसँगै हत्या पनि गर्छन् । स–साना विवादमा पनि हत्या गर्ने प्रवृत्तिले समाज असुरक्षित बनेको छ’ उनले भने’ ‘कति बेला कसको कहाँ हत्या हुन्छ थाहा छैन ।’ अपराध न्यूनीकरण गर्न र जनतालाई शान्ति सुरक्षाको अनुभूति गराउन गाउँगाउँमा पनि प्रहरीले गस्ती बढाउनुपर्ने उनको सुझाव छ ।

मधेशमा ६ महिनामा ३६ जनाको हत्या

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार पछिल्लो ६ महिनामा मधेश प्रदेशमा ३६ जनाको हत्या भएको छ । जसमा २४ जना पुरुष, १० जना महिला र दुईजना बालबालिका छन् ।
प्रहरी तथ्यांक अनुसार यो अवधिमा सर्लाहीमा ६ जना, बारा र महोत्तरीमा ६÷६ जना, धनुषा र सिरहामा ५÷५ जना, रौतहटमा ४ जना, सप्तरीमा ३ र पर्सामा १ जना छन् ।

हत्या हुनेमा सर्लाहीमा ४ पुरुष र २ महिला छन् । यस्तै सिरहामा ५ जना पुरुष छन् भने महोत्तरीमा ३ महिला, एक बालिका र २ पुरुष छन् । बारामा पुरुष ३ र महिला २ जना र एक बालक रहेको तथ्यांकमा उल्लेख छ ।
यस्तै धनुषामा ३ पुरुष र २ महिला, रौतहटमा ३ जना पुरुष र एक महिला रहेका छन् । त्यस्तै सप्तरीमा ३ जना महिला र पर्सामा १ पुरुष रहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवाचन्द्र बोहराले उपलब्ध गराएको तथ्यांकमा छ ।
पछिल्लो पटक भइरहेको जघन्य हत्या घटनालाई अपराध बढेको भन्न नसकिने मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवाचन्द्र बोहराको तर्क छ ।

‘कहिलेकाहीँ एउटा घटना भयो भन्दैमा अपराध बढ्यो वा घट्यो भन्न सकिंदैन’ उनको तर्क छ । तर सानातिना कुरामा हत्या गर्ने प्रवृत्ति बढेकाले त्यस तर्फ गम्भीर हुनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

‘लुट्ने उद्देश्यले आएका छन् । मान्छे मारेका छन् । यो त जघन्य अपराध हो । यस्तो घटनालाई गम्भीर नै मान्नु पर्छ,’ उनले भने ।
समाजसेवी प्रकाश थारु समाज उच्छृङ्खल गतिविधि गरिरहेकाहरूबाट असुरक्षित बन्दै गएको बताउँछन् । ’प्रहरीको कमिकमजोरी त छ नै । समाजमा उच्छृङ्खल गतिविधि गर्ने, अपराध गर्नेको संख्या बढ्दै छ,’ उनले भने ’अपराध बढ्नुमा जनचेतनाको अभाव देखिन्छ । सावधानी अपनाउनु आवश्यक छ ।’

प्रहरीले अपराध न्यूनीकरण योजना बनाएर काम नगर्दा अपराध बढेको एक प्रहरी अधिकारी स्वीकार गर्छन् । उनी भन्छन्, ‘हत्या भएपछि अनुसन्धान हुन्छ । तर यस्तो घटना कसरी न्यूनीकरण गर्ने भनेर कार्ययोजना बनाएर प्रहरी संगठनले काम गरेको छैन । यो काम प्रहरीको प्राथमिकतामै छैन ।’

ती प्रहरी अधिकारीका अनुसार हत्याका घटना बढ्नुमा खुल्ला सीमा, आपराधिक मनोविज्ञान, तस्करी लगायतलाई बेवास्ता गर्नु, सीमामा वारपार गर्ने व्यक्ति र सवारीसाधनको रेकर्ड नहुनु, लागुऔषध, अनैतिक प्रेम सम्बन्ध, क्षणिक प्रेम सम्बन्ध लगायत कारण रहेका छन् ।

खुला सीमा एकातिर छ भने जनसंख्याको चाप बढिरहेको छ । प्रहरीले ठोस योजना बनाएर काम गर्न नसक्दा खुला बोर्डर, जनसंख्याको चाप, सामाजिक सञ्जाल, जनचेतनाको अभाव लगायतको कारण आपराधिक घटना बढेको सुरक्षाविद्हरूको विश्लेषण छ ।
नेपाल प्रहरीका पूर्व एसएसपी षडानन्दप्रसाद कुर्मी संघीयतासँगै प्रहरी परिचालनमा अलमल देखिएको बताउँछन् । मैदानमा राम्ररी काम गर्न नसकेको अवस्था छ । जनशक्ति थप्ने, वृत्ति विकास लगायतका कुराहरूमा ध्यान दिएर जानुपर्ने उनी बताउँछन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *