जनकपुरधाममा आज भव्य रूपमा सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै
टुडेपाटी-
जनकपुरधाम, मंसिर २१ गते ।
जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव भव्य रूपमा मनाइँदै छ । मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र देवी सीताको विवाह सम्पन्न भएको स्मरणमा यो महोत्सव प्रत्येक वर्ष उल्लासपूर्वक मनाउने परम्परा रहेको छ ।
मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवको आज छैटौँ अर्थात् मुख्य दिन हो। राम र सीताको विवाह त्रेता युगमा मिथिलाको राजधानी जनकपुरमा भएको विश्वास गरिन्छ । यस परम्परालाई निरन्तरता दिँदै, जनकपुरमा भगवान राम र जानकीको डोलालाई स्वयंबरसहित वैदिक विधिअनुसार विवाह गरिन्छ ।
आज दिउँसो राम मन्दिरबाट रामको डोला र जानकी मन्दिरबाट सीताको डोला साधु–सन्तको अगुवाइमा ऐतिहासिक रंगभूमि मैदान, बाह्रविघामा पुग्छ । त्यहाँ दुबै डोलाफेर गरी राम र सीताको स्वयम्बर हुने छ ।
राम मन्दिरका महन्थ रामगिरी भगवान रामका बुबाको भूमिकामा र जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव राजा जनकको भूमिकामा रहन्छन् ।स्वयंबर पश्चात दुवै डोला नगर परिक्रमा गर्दै जानकी मन्दिरमा पुग्छन् । जानकी मन्दिरमा वैदिक विधिअनुसार रातभर विवाहको काज हुने छ ।
भगवान राम र जानकीको डोला दर्शन तथा स्वयंबर हेर्न जनकपुरधाममा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। यो वर्ष, अयोध्याबाट आएको साधु–सन्तको जन्तीले महोत्सवको रौनक थप बढाएको छ ।
सप्ताहव्यापी महोत्सवका क्रममा हिजो पाँचौँ दिन जानकीको मटकोर सम्पन्न भएको थियो। यसअघि पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, र चौथो दिन तिलकोत्सव मनाइएको थियो । भोलि रामकलेवाको कार्यक्रमसँगै महोत्सवको विधिवत् समापन हुनेछ । रामकलेवामा जन्तीलाई मिथिला भोजन खुवाई दक्षिणासहित बिदाइ गर्ने परम्परा छ ।
विवाहपञ्चमीको अवसरमा आयोजित विभिन्न सांस्कृतिक कार्यक्रमले मिथिलाको लोपोन्मुख कला–संस्कृति देख्न सकिन्छ । बालबालिकाद्वारा प्रस्तुत राम, सीता, र लक्ष्मणको झाँकी, नाटक, नाचगान, र भजन–कीर्तनले महोत्सवमा विशेष आकर्षण थपेको छ।
यस अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ।
Sponsored