TodayPati

इँटा भट्टामा काम गर्न ल्याइएका ४४ मजदुर अलपत्र

रासस-
सप्तरी, कार्तिक १२ गते ।

सप्तरीको विष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर अलपत्रमा परेका छन् । उनीहरु हाल राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरी नजिकै निर्माणाधीन एक घरको भुइँमा बसेका छन् ।

भारतको उत्तरप्रदेशस्थित सम्भल जिल्लाबाट १५ दिनअगाडि उनीहरुलाई ल्याइएको थियो । उनीहरुलाई ल्याउने ठेकेदार नै भागेपछि मजदुरहरु अलपत्र परेका हुन् । भारतको उत्तरप्रदेश जिल्ला सम्भल थाना हजरनगरगढीका सोनु सागरले १२ दिन जसोतसो मलेकपुरस्थित सीता इँटा उद्योगमा बसे पनि ठेकेदार सम्पर्कमा नआएपछि अलपत्र परेको बताए ।

Sponsored

उनले भारतबाटै मो. जाकिर मियाँ नाम गरेको ठेकेदारले इँटा भट्टामा काम गर्न ल्याएको बताए ।

सोही ठाउँका अर्का मजदुर बोहरा सिँहले इँटा उद्योगमा १२ दिन बसेको तर मालिकले खाना दिन छाडेपछि तीन दिनदेखि राजविराजमा भोकै बसेको बताए । ’हामीसँग पैसा छैन, घर जाने पैसा पनि छैन । कसरी घर फर्किने भन्ने चिन्ता छ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालयले सीता इँटा उद्योगबाट ११ बालबालिका, १५ महिलासहित ४४ भारतीय मजदुरको उद्धार गरेको जनाएको छ । प्रहरीले उद्धार गरी सदरमुकाम राजविराज ल्याएपछि इँटा व्यवसायीले खाना खुवाइरहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *