TodayPati

मधेश प्रदेशका तीन मन्त्रालयका सचिवको सरुवा, मुख्यमन्त्री कार्यालयले गरे बिदाइ

टुडेपाटी

जनकपुरधाम, कार्तिक ८ गते ।

मधेशमा प्रदेशका तीन मन्त्रालयका सचिवको बिदाइ गरिएको छ । केहीदिन अघि संघीय सरकारले गरेको सह सचिवहरुको नियमित सरुवामा मधेश सरकारका अर्थ मन्त्रालयका सचिव सुवासचन्द्र सिवाकोटी, गृह संचार तथा कानुन मन्त्रालयका सचिव विरेन्द्र यादव र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शरणकुमार पाण्डे परेका थिए ।

Sponsored

उनीहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार बिदाइ समारोह गरेका हो । मुख्यमन्त्री सतिशकुमार सिँहको अग्रसरतामा भएको विदाई समारोहमा सहसचिवहरू मधेश प्रदेशमा परिवारकै सदस्यले पाउनेजस्तो आत्मीयता, सहयोग र सद्भाव पाएको बताएका छन् ।

उनीहरूले समवेत स्वरमा भने, ‘मधेशमा काम गर्न अप्ठ्यारो छ भन्ने कर्मचारीवृत्तमा भ्रमले जरो गाडेको छ । त्यसविपरीत हामीले प्रदेश सरकारमा काम गरिरहँदा राजनीतिक नेतृत्वसँगै सहकर्मी कर्मचारीहरूको अपेक्षाभन्दा बढी सहयोग र प्रोत्साहन पायौँ ।’ समूहबद्ध भएर काम गर्ने र सकरात्मक तथा सार्थक परिणाम प्राप्त गर्ने अदम्य चाहनाले मधेशको राजनीतिक नेतृत्व र कर्मचारीहरू प्रेरित रहेको उनीहरूको साझा अनुभव थियो ।

प्रदेश सचिवको सरुवापछि मधेश प्रदेश सरकारले सात वर्षमा पहिलोपटक बिदाइ समारोहको आयोजना गरेको हो ।

Sponsored

अर्थ मन्त्रालयको सचिवबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका सुवासचन्द्र शिवाकोटीले प्रदेशमा काम गरिरहँदा राजनीतिक नेतृत्वको मार्गनिर्देशनमा मन्त्रालयका कामकाज व्यवस्थित र प्रभावकारी बनाउने रूपरेखा कोर्न पाएकोमा सन्तोष व्यक्त गरे । उनले जस्तोसुकै जटिलता र सकसलाई चिर्न मुख्यमन्त्रीलगायत मन्त्रीहरूबाट प्राप्त सद्भाव उत्साहप्रद तथा प्रेरणादायी रहेको भन्दै मधेश प्रदेशको बसाइँ स्मरणीय रहने उल्लेख गरे ।

उनले भने, ‘यहाँको अनुभव मेरो व्यक्तिगत पेसागत जीवनका लागि समेत महत्त्वपूर्ण रहनेछ ।’

गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिवबाट योजना आयोगमा सरुवा भएका वीरेन्द्रकुमार यादव मधेश प्रदेशमा सरुवा भएका कर्मचारीलाई बिदाइ गर्ने कार्य पहिलोपटक भएको भन्दै यस्तो परम्परा र सँस्कारलाई निरन्तरता पाउने अपेक्षा गरे । उनले सरकार आफू यसअघि पनि प्रदेशमा काम गरी अन्यत्र पुगेको भए पनि सम्मानसहितको बिदाइ पहिलोपटक पाएकामा सरकार प्रमुख सतिशकुमार सिँहप्रति कृतज्ञता व्यक्त गरे ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिवबाट कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका शरणकुमार पाण्डेले मधेश प्रदेशमा काम गर्दाका असल अभ्यासहरूका सिकाइ अर्को प्रदेशमा काम लाग्ने बताए । उनले भने, ‘मधेश प्रदेशको समन्वय र सहकार्यको सँस्कृति यहाँ आउने कर्मचारीका लागि काम गर्ने वातावरण प्रदान गर्नेछ ।’

मधेश प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा गृहमन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा आएका उधव रिजाललाई स्वागत गरिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *