जनमतको निर्देशन : ‘आन्दोलनको लागि तयार रहनु’
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ४ गते ।
जनमत पार्टीले सम्भावित आन्दोलनका लागि तयारी अवस्थामा रहन पार्टी नेताकार्यकर्तालाई निर्देशन दिएको छ। पार्टीका प्रवक्ता शरदसिंह यादवका अनुसार देशको जटिल राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै सबै तहका संगठनहरूलाई आन्दोलनको तयारीमा रहन निर्देशन गरिएको हो ।
आइतबार मध्यबानेश्वरस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैठकले यो निर्णय गरेको हो । बैठकपछि पार्टी पंक्तिलाई आन्दोलनको लागि तयार रहन भनिएको छ।
त्यसैगरी, मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनको तयारीस्वरूप, जनमत पार्टीले निर्वाचन परिचालन समितिलाई १४ कात्तिकसम्म उम्मेदवारको नाम केन्द्रीय सचिवालयमा पठाउन निर्देशन दिएको छ।
बैठकले स्थानीय तह उपनिर्वाचनका लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ। समितिमा निर्वाचन हुने वडा र पालिकाका केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, पालिका अध्यक्ष वा पूर्व अध्यक्ष, र वडा अध्यक्ष वा पूर्व अध्यक्ष समावेश हुनेछन्।