TodayPati

नेपाल र भारतमा बाढीबाट जोगिने उपाय खोज्नु पर्नेमा वक्ताहरुको जोड

टुडेपाटी-
जनकपुरधाम, असोज १८ गते ।

नेपाल–भारत खुला सीमा संवाद समूहद्वारा बाढी पीडितहरूका लागि “आर, और पार” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समूहका केन्द्रीय अध्यक्ष डा. राजीव झाले चुरे दोहनका कारण पहाडमा पानी नरोकिएर अत्यधिक चापले नेपाल र भारत दुवैतर्फ क्षति पु¥याइरहेको बताए । उनले नेपाल सरकारले वर्षायामभन्दा पहिले नै भारतसँग समन्वय गरी बाढी नियन्त्रणका लागि संयुक्त प्रयास गर्न अनुरोध गरे ।

उनले कार्यपत्र प्रस्तुत गर्दै भने, ‘सीमावारिपारि बस्नेहरूले आपद् विपद्को समयमा एकअर्कालाई सधैं सहयोग गरेका छन् ।’

Sponsored

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवले नेपालमा हरेक विपद्को समयमा भारत सरकार पहिलो सहयोगीको भूमिकामा रहेको बताए । तर नेपाल सरकारका केही व्यक्तिहरूले भारतलाई गाली गरेर ठूलो नेता बन्ने होड चलाएको उनले टिप्पणी गरे ।

नागरिक समाजका अगुवा मुरली मनोहर मिश्राले प्राकृतिक स्रोतसाधनको दोहनले यस्ता विपत्तिहरू निम्त्याएको बताए । उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जितेन्द्र महासेठले बारम्बार सरकार परिवर्तन हुँदा प्रभावकारी व्यवस्थापन हुन नसकेको टिप्पणी गरे । मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले दुवै देशले बाढी नियन्त्रणका लागि विनियोजित बजेटको सदुपयोग गरे बाढीको क्षति न्यूनीकरण गर्न सकिने बताए ।

चुरे अभियानी दीपक यादवले चिनियाँ कम्पनीहरूले खुट्टी खोलामा ४०–५० फिटसम्म खाल्डो खनी मुहान नै परिवर्तन गराएकोप्रति आक्रोश व्यक्त गरे ।

Sponsored

हिन्दी अभियानी रमण पाण्डेले चिनियाँहरू सडक निर्माणको नाममा पहाड र खोला उत्खनन गरिरहेको भन्दै यसलाई दुश्मनजस्तो व्यवहारको रूपमा बुझ्नुपर्ने धारणा राखे । वरिष्ठ पत्रकार श्यामसुन्दर शशीले खोला नाला र अतिक्रमणको समुचित व्यवस्थापन नहुनु नै बाढी र पहिरोको प्रमुख कारण रहेको बताए ।

भारतीय कम्युनिस्ट पार्टी (माले) का नेता भूषण सिंहले जयनगरतर्फको नदीमा बालुवा उत्खननको उचित स्तर नहुँदा जलस्तर बढेको बताए । बाढी विज्ञ रत्नेश्वर लाल कर्णले नेपालका सातमध्ये छ प्रदेश बाढीबाट प्रभावित रहेको र बाढीको समाधानका उपाय खोज्नुपर्नेमा जोड दिए ।

भारतीय पत्रकार ललित झाले समस्या हाम्रो भएकोले समाधान पनि हामीले नै खोज्नुपर्ने बताए । उनले पश्चिमी विकास मोडेलमा पहाड काटेर सडक निर्माण र चुरे दोहनलाई बाढीको मुख्य कारण ठहर गरे ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष दीपेन्द्र साह, शिक्षक सत्रुधन साह, संजय सिंह, विनोद ठाकुर, सन्तोष लाल कर्ण, प्राध्यापक डा. बिरेन्द्र लाल कर्ण, प्राध्यापक इश्वर कान्त झालगायतले मन्तव्य व्यक्त गरे । शिव शंकर साह हिराले स्वागत मन्तव्य राखेका थिए भने राष्ट्रिय मुक्ति क्रान्तिका नेता संजय चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *