TodayPati

आजदेखि बडादशैं सुरु

टुडेपाटी-
जनकपुरधाम, असोज १७ गते ।

नेपालीहरूको महान पर्व बडादशैं आजदेखि सुरु भएको छ । आज घटस्थापना मनाइँदैछ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादशैं उल्लासपूर्वक मनाइन्छ । आजको दिन घर–घरमा वैदिक विधिअनुसार घटस्थापना गरी, दियो, कलश र गणेश स्थापना गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभ साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।

Sponsored

पूजा कोठा अथवा दशैं घर गाईको गोबरले लिपेर, पवित्र नदी वा शुद्ध स्थलबाट ल्याइएको बालुवा वा माटोमा विधिपूर्वक जौ छरेर जमरा राखिन्छ। जमरा दुर्गा देवीको प्रिय वस्तु भएकोले, विजया दशमीका दिन पहेँलो जमरा टीका प्रसादसँगै ग्रहण गरिन्छ। घटस्थापनामा स्थापित कलशलाई दुर्गा देवीको प्रतीक मानिन्छ र त्यसको विशेष पूजा गरिन्छ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधि नवरात्र भनिन्छ, जसमा दुर्गाका नौ रूपको पूजा गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ।

बडादशैंको सातौँ दिन फूलपाती भित्र्याइन्छ, भने महाअष्टमी र महानवमीका दिन बलि पूजा विशेष विधिपूर्वक सम्पन्न गरिन्छ। नवरात्रभर दुर्गा सप्तशती, चण्डी पाठ, श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गरिन्छ। यस अवसरमा देशभरका शक्तिपीठ र मन्दिरहरूमा भक्तजनहरूको ठूलो भीड लाग्छ।

Sponsored

दशैं पर्व सत्यको असत्यमाथिको विजय र दैवी शक्तिको आसुरी शक्तिमाथिको जितको प्रतीक मानिन्छ। यो पर्व जाति, धर्म विशेषको नभई सम्पूर्ण मानव कल्याणका लागि मनाइन्छ भन्ने धार्मिक विद्वानहरूको धारणा छ।

यस वर्ष विजया दशमीको टीका असोज २६ गते शनिबार परेको छ। देवी विसर्जन बिहान ८ः३३ बजेपछि, ११ः३६ बजे मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गर्न शुभ साइत रहेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *