TodayPati

रौतहटमा श्रीमतीलाई जलाएर हत्या, श्रीमान पक्राउ

टुडेपाटी-
जनकपुरधाम, असोज ११ गते ।

रौतहटको इशनाथ नगरपालिकामा श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति इशनाथ नगरपालिका–२ औरैयाका २४ वर्षीय रोशन साह सोनार हुन् ।

उनले आफ्नी २२ वर्षीया श्रीमती पिंकी देवीलाई मट्टितेल छर्केर आगो लगाएको आरोपमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेका अनुसार घटना विश्वकर्मा पूजाको दिन भएको थियो । रोशनले खेतमा पानी हाल्ने पम्पको ट्यांकीबाट मट्टितेल झिकेर श्रीमतीलाई आगो लगाएका थिए। पिंकीले गुहार माग्दा उनले ढोका खोलेर बचाउने नाटकसमेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Sponsored

“श्रीमतीलाई जलाएको आरोपमा कर्तव्य ज्यान मुद्दामा कानूनी कारबाही अघि बढाएका छौं,” उपरीक्षक घिमिरेले भने। गम्भीर रूपमा घाइते भएकी पिंकीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

२०७९ साल फागुनमा वैवाहिक बन्धनमा बाँधिएका रोशन र पिंकीको एक छोरा पनि जन्मिएको थियो । गौर–२ माइती भएकी पिंकी सुत्केरी भएको ३५ दिनपछि ससुराली घर फर्किएकी थिइन् । तर फर्किएको केही समयपछि नै उनको छोराको मृत्यु भएको थियो।

मृतक पिंकीका काका संजय मुखियाका अनुसार पिंकी ८ महिनाकी गर्भवती थिइन्। उनले आरोप लगाउँदै भने, “मेरी भतिजी गर्भवती थिइन्, तर उनका श्रीमान् र परिवारले मिलेर उनलाई पटक–पटक घरेलु हिंसा गरेका थिए र अन्ततः उनको हत्या गरे । ”

Sponsored

संजय मुखियाले जानकारी दिए अनुसार ९ दिनसम्म कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत रहेकी पिंकीको शव खर्च नबुझाउँदा अझै अस्पतालमै रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *