TodayPati

भारतले भन्यो- ‘नेपालले जारी गरेको नयाँ नक्सा मान्दैनौं’

टुडेपाटी-

नयाँदिल्ली, जेठ ७ गते ।

सारकारले लिम्पियाधुरालाई आफ्नो नयाँ नक्सामा गर्ने गरी नेपालमा समावेश गरेको निर्णयलाई भारतले विरोध गरेको छ ।

Sponsored

नेपालको निर्णयलाई एकतर्फी कार्य भन्दै भारतले सो भौगोलिक दाबीलाई अस्वीकार गर्ने भएको छ ।

बुधबार साँझ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले सार्वजनिक गरेको नयाँ नक्सा भारतलाई मान्य नहुने बताएका छन् । नेपालले  बुधबार दिउँसो लिम्पियाधुरा समावेश गरेको नक्सा सार्वजनिक गरेको थियो ।

नेपालले नयाँ नक्सामा समावेश गरेका भूभाग ऐतिहासिक तथ्य र प्रमाणसँग मेल नखाने भारतले दाबी गरेको छ ।

Sponsored

‘नेपाल सरकारले बुधबार नेपालको परिमार्जित नक्सा जारी गरेको छ । जसमा भारतीय भूभाग समेत समावेश छ । यो एकपक्षीय कार्य कुनै ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले पत्रकारहरुलाई जवाफ दिँदै भनेका छन्, ‘यो सीमासम्बन्धीलाई मुद्दालाई कुटनीतिक संवादमार्फत हल गर्ने समझदारीविपरीत छ ।’

 ‘भौगोलिक दाबीमा कृत्रिम वृद्धि गर्ने यस्तो कदमलाई भारत अस्वीकार गर्छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।

यसअघि भारतले एकपक्षीयरुपमा नक्सा सार्वजनिक गर्दा नेपालले पनि भारतलाई ठीक यही आरोप लगाएको थियो ।

भारतले गत कात्तिकमा एकतर्फी रुपमा नेपाली भूमि लिपुलेक समेत समावेश गरी नयाँ नक्सा जारी गरेपछि सीमा मुद्दा पनि चर्किएको थियो ।

यस विषयमा भारतले निरन्तर एउटै अडान राख्दै आएकोबारे नेपाल जानकार रहेको बताउँदै श्रीवास्तवले भनेका छन्, ‘हामी नेपाल सरकारलाई पुष्टि हुन नसक्ने दाबीहरुबाट टाढा रहन र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्छौं ।’

नेपाली नेतृत्वले थाँती रहेका सीमासम्बन्धी विषय सल्टाउन कुटनीतिक संवादका लागि उचित वातावरण बनाउनेछ भन्ने उनले आशा गरेको समेत बताए । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *