विराटनगरस्थित कोशी अस्पतालबाट ८ जना कोरोना संक्रमित डिस्चार्ज
टुडेपाटी-
विराटनगर, जेठ ७ गते ।
प्रदेश १ मा काेराेना भाइरस सङ्क्रमणकाे उपचार गराइरहेका थप ८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा पाँच भारतीय नागरिक र तीन जना उदयपुरको भुल्केका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बुधबार डिस्चार्ज हुनेहरु गएको वैशाख ५ र ९ गते कोशी अस्पतालकाे कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएका थिए । डिस्चार्ज भएका पाँच जना भारतीय नागरिकलाई विराटनगर १५ मा रहेको रानी मरकज क्वरेण्टीन र उदयपुरका तीन जनालाई भुल्के पठाइएको अस्पतालका व्यवस्थापक जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
कोभिड अस्पतालमा अहिले २८ जनाकाे उपचार भइरहेकाे छ । बुधबार सङ्क्रमण देखिएका धनकुटाका पाँच जना कोभिड अस्पताल आउने क्रममा रहेको जनस्वास्थ्य अधिकृत बस्नेतले बताए ।
डिस्चार्ज भएका ८ जनासँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको सङ्ख्या २६ पुगेको छ भने नेपालभर ४५ जना पुगेका छन् ।योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५९ पुगेको छ ।
Sponsored