TodayPati

धनुषाको पुर्वी भेगको सूर्यनाथ राना स्मृति अस्पताल १४ वर्षपछि सञ्चालनको तयारी

टुडेपाटी-
जनकपुरधाम, भदौ २० गते ।

धनुषाको सहिदनगर नगरपालिकास्थित डुमरियामा निर्माण गरिएको सहिद सूर्यनाथ राना स्मृति अस्पताल १४ वर्षपछि अन्ततः सञ्चालनमा आउने भएको छ । मधेस सरकारले आफ्नो स्वामित्वमा लिएर सञ्चालन गर्ने निर्णय गरेपछि अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण र औषधी पठाउने काम सुरु भएको छ ।

मुख्यमन्त्री सतिस सिंहका अनुसार, अस्पतालको भौतिक संरचना तयार भएको १४ वर्षपछि यसलाई सञ्चालनमा ल्याउन लागिएको हो । स्थानीय बासिन्दाले अस्पताल अभावका कारण धेरै सास्ती खेप्नु परिरहेको गुनासो गर्दै आएका थिए । यसलाई ध्यानमा राख्दै प्रदेश सरकारले अस्पतालको अवलोकन गरेको थियो । अवलोकनपछि अस्पताल सञ्चालनले जनतालाई राहत दिने निष्कर्ष निकालेर सरकारको मातहतमा ल्याउने निर्णय भएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Sponsored

मुख्यमन्त्री सिंहले जानकारी दिए अनुसार, सहिद सूर्यनाथ राना स्मृति अस्पतालसँगै धनुषा, पर्साको पोखरिया अस्पताल, सप्तरीको सहिद राजीव रामकृष्ण प्रादेशिक अस्पताल, र सर्लाहीको बैजनाथ आमा तथा बाल अस्पताललाई प्रदेश सरकारको मातहत राखेर सञ्चालन गरिनेछ । मन्त्रीपरिषद्बाट यी चारै अस्पताललाई ५० शय्याका रुपमा सञ्चालनको अनुमति दिने निर्णय भइसकेको छ ।

सहिद सूर्यनाथ राना स्मृति अस्पताल एक महिनाभित्र सेवा दिन सुरु गर्नेगरी काम अघि बढाइएको मुख्यमन्त्री सिंहले जानकारी दिए । लामो समयदेखि अस्पताल सञ्चालनमा नआउनुको प्रमुख कारण अस्पतालको व्यवस्थापनमा स्पष्टता नहुनु रहेको स्थानीयले बताएका छन् ।

स्थानीय बासिन्दा दीपेन्द्र यादवले अस्पताल सञ्चालन हुने खबरले खुसी छाएको बताए । उनले भने, “करिब १४ वर्षदेखि हामी यो अस्पताल सुरु होस् भनेर प्रयासरत थियौं, तर सफल हुन सकेको थिएन । अस्पताल नहुँदा जनकपुरसम्म जानुपर्ने बाध्यता थियो, अब त्यो समस्या हट्ने भएको छ ।”

Sponsored

मधेस सरकारले १९ असारमा प्रदेशका चार अस्पताललाई आफ्नो मातहतमा लिएर सञ्चालन गर्ने निर्णय गरेको थियो । यसका लागि प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, जनस्वास्थ्य प्रयोगशाला, र स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत आवश्यक उपकरण र औषधी पठाइएको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. सञ्जय ठाकुरले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *