लक्ष्मी बैंकका दुई कर्मचारी सहित १३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
टुडेपाटी समाचारदाता-
जनकपुरधाम,जेठ ७ गते ।
गत बैशाख ३० गते जनकपुरमा संक्रमित पाइएका एकजना पुस्तक व्यवसायीको सम्पर्कमा रहेको भनिएका लक्ष्मी बैंकका दुईजना कर्मचारी सहित अन्य ११ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
बैंकका कर्मचारीहरु मध्ये एकजना पुस्तक व्यवसायीका आफन्त छन् भने अर्का एकजना उनकै फ्लाइटमा बस्दै आईरहेका थिए ।
जनकपुरधामस्थित लक्ष्मी बैंकको शाखामा कार्यरत एकजना २५ बर्षिय र अर्का ३० बर्षिय पुरुष कर्मचारी लगायत उनीहरुसँगै त्यहि फ्लाइटमा बसिरहेका अन्य ११ जनाको संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा स्वाब संकलन गरि परिक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।
उनीहरु सबैजनाको पीसीआर (पोलिमेयर चेन रियाक्सन) बिधिबाट कोरोना परिक्षण गरिएको र आज (बुधबार) रिपोर्ट नेगेटिभ आएको आधिकारीक जानकारी प्राप्त भएको छ । यसअघि हिजो (मंगलबार) मात्रै संक्रमित ३५ बर्षिय पुस्तक व्यवसायीका पत्नी र दुईजना बच्चाको रिपोर्ट समेत नेगेटिभ आईसकेको छ ।
जनकपुरधाम-४ स्थित पिडरियामाई थान एरियाको एक फ्लाइटमा संक्रमितको परिवारका ४ जनासँगै अन्य १३ जना बस्दै आईरहेका छन् ।
Sponsored