TodayPati

नेता राजिव झालाई थुन्ने धनुषाका सिडिओ कडरियाको धम्की

जनकपुरधाम, भदौ १० गते ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिका नेता राजिव झालाई धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले धम्की दिएका छन् । आइतबार प्रजिअ कडरियाले फोन गरी आफूलाई २४ घण्टा भित्र थुनिदिने धम्की दिएको नेता झाले बताए ।

नेता झाका अनुसार जग्गाको रजिस्ट्रेसन गराउन धनुषाको भूमि सुधार तथा मालपोत कार्यालय पुगेका एक सेवाग्राहीको कामको सिलसिलामा मालपोत प्रमुख विष्णुप्रसाद सिटौलासँग फोन सम्पर्क गरेका थिए । विगत ७ महिनादेखि अदालतको आदेशको पालनामा सेवाग्राही संजिव कुमार झा बारम्बार कार्यालय धाइरहे पनि काम सम्पन्न नभएपछि झाले प्रमुख सिटौलासँग कुरा गरेका थिए ।

Sponsored

“मैले सेवाग्राहीको कामको लागि यसअघि पनि दुई–तीन पटक फोन गरेको थिएँ । तर, काम भइरहेको छैन । हिजो फेरि फोन गर्दा प्रमुखले कर्मचारी छैनन्, अहिले काम हुँदैन’ भन्नुभयो । मैले किन काम भइरहेको छैन भनेर सोध्दा, उहाँले म काम गर्दिनँ, तपाईँ सक्नुहुन्छ भने मेरो सरुवा गराइदिनुस् भन्नुभयो । अनि मैले भने, ’किन यसरी बोल्नु हुन्छ, काम गर्नु हुन्न भने बिदाइ नै गराउँछौं ।’ नेता झाले प्रमुखसँग भएको फोन संवाद सुनाए ।

घटनापछि प्रमुख सिटौलाले प्रजिअ कडरियालाई यसबारे जानकारी गराए । त्यसपछि प्रजिअ कडरियाले नेता झालाई कर्मचारीलाई धम्क्याएको भन्दै फोन गरी थुनिदिने धम्की दिएका हुन् । नेता झाले यो धम्की व्यक्तिगत रिसइबीका कारण दिएको आरोप लगाएका छन् । आफू काठमाडौंमा रहेको जानकारी दिए पनि प्रजिअ कडरियाले “तपाईं काठमाडौंमै भए पनि काठमाडौंबाटै ल्याएर थुन्छु“ भनेर धम्की दिएको बताए ।

यस घटनामा, मालपोत प्रमुख सिटौलाले नेता झाले सेवाग्राहीको कामलाई लिएर धम्की दिएको आरोप लगाए । ‘मुद्दा शाखामा जनशक्ति अभावका कारण सेवा प्रवाह गर्न कठिन छ । नेता झाले फोनमा काम नगरे जे पनि हुन सक्छ भनेर धम्की दिनुभयो’ प्रमुख सिटौलाले भने, असुरक्षित लागेपछि मैले प्रजिअलाई जानकारी गराएँ ।’

Sponsored

प्रजिअ कडरियाले कर्मचारीलाई ज्यान मार्ने धम्की दिएपछि आफूले थुन्ने धम्की दिएको स्वीकारे ।

‘कर्मचारीलाई धम्क्याउनेलाई थुन्ने कुरा मैले भनेको हुँ । कर्मचारीको सुरक्षा दिने मेरो दायित्व हो’ प्रजिअ कडरियाले भने ‘मैले नेता झालाई भने, यदि तपाईँले कर्मचारीलाई ज्यान मार्ने धम्की दिनुहुन्छ भने मैले पनि तपाईँलाई थुन्न सक्छु ।’ धम्की दिएर काम गर्ने जमाना छैन’

नेता झाले जनकपुरधामस्थित जिल्ला समन्वय समिति धनुषाको भवनमा क्लोथ बैंक सञ्चालन गरेका छन् । यस विषयमा केही महिनाअघि प्रजिअ कडरिया र नेता झाबीच विवाद भएको थियो ।

यस घटनापछि राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले प्रेस विज्ञप्ति जारी गर्दै प्रजिअ कडरियालाई छानबिन गरी कारबाही गर्न माग गरेका छन् । उनले यदि कारबाही नगरे संघर्षबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनी दिएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *