TodayPati

धनुषामा ८२ विघा आँप फडानी रोक्न किसानको समस्या समाधान गर्न मधेश सरकारसँग ७ बुँदे माग

टुडेपाटी-
जनकपुरधाम, भदौ ९ गतेः

धनुषाको बटेश्वर गाउँपालिकाका पर्यावरण अभियन्ताहरूले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाउँदै आँप किसानहरूको समस्या समाधान गर्न सात सूत्रीय माग गरेका छन् । सरकारले आँप किसानहरूको समस्याप्रति बेवास्ता गर्दा बटेश्वर गाउँपालिकामा ८२ विघा जमिनमा लगाइएका आँपको बोट फडानी गरी किसानले सोलार प्लान्ट स्थापनाको लागि दिने तयारी गरेका छन् ।

फडानी रोक्न र किसानको समस्याप्रति सवंदेनशील पर्यावरण अभियन्ताहले माग गरेका हुन् । पर्यावरण अभियन्ता फुलगेन मगहीको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा बटेश्वरका आँप किसानहरूलाई लक्षित गर्दै कोल्ड स्टोर निर्माण प्रक्रिया छिटो अघि बढाउन, आँप किसानको बीमा गर्न, र नमूना पकेट क्षेत्र घोषणा अनुसार अनुदानको व्यवस्था गर्नुपर्ने माग गरिएका छन् ।

Sponsored

ज्ञापनपत्रमा जंगली जनावर नीलगाईको व्यवस्थापन, आँप खेतीका लागि विशेष अनुदानमा कीटनाशक औषधि, मलखाद र उपकरणहरूको व्यवस्था, सिँचाइको उचित व्यवस्था, र बजार व्यवस्थापनमा सुधारको पनि माग गरिएको छ ।

बटेश्वरका किसानहरू हावाहुरी, असिना पानी, बजार नपाइने समस्या, र किराको प्रकोपले चिन्तित छन् । वर्षभरको मिहिनेत र लगानी गर्दा पनि अपेक्षित उपज नआउँदा, किसानहरूले करिब ६ हजार आँपका बोट फाँडेर सोलार प्लान्टका लागि जग्गा भाडामा दिने निर्णय गरेका छन् । पर्यावरणीय क्षति हुने भन्दै अभियन्ताहरू चिन्तित छन् । माग पूरा नभए आन्दोलनको चेतावनी दिएका छन् ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा आँपको पकेट क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक पूर्वाधार विकासलगायतका काम गरिरहेको जानकारी दिए। उनले बटेश्वर क्षेत्रमा कृषि विद्युतीकरण, डिप बोरिङमार्फत सिँचाइ व्यवस्थापन, र आँप भण्डारण गर्न कोल्ड स्टोरको व्यवस्था गर्न आवश्यक कार्य गर्न निर्देशन दिएका छन् ।

Sponsored

ज्ञापनपत्र बुझाउन स्थानीय अभियन्ताहरू दिपेन्द्र सिंह, विजय दास, अनिल शर्मा लगायत पुगेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *