TodayPati

महोत्तरीमा आरती साह मृत्यु जस्तै घटना : दाइजोको निहुँमा रिनाको हत्या भएको दावी

टुडेपाटी-
जनकपुरधाम, भदौ ६ गते।

महोत्तरीको जलेश्वर नगरपालिका ८ रमौलकी २० वर्षीया नवविवाहिता रिना देवी रायको शंकास्पद मृत्यु भएको छ। माइती पक्षले दाइजोको निहुँमा पति रोहन कुमार राउतसहित ससुराली पक्षले हत्या गरेको आरोप लगाएको छ। रिनाको मंगबार मध्यराति १ बजे मृत्यु भएको हो।

घरपरिवारले रिनाको अचानक बिरामी भएर मृत्यु भएको जानकारी प्रहरी र माइती पक्षलाई दिएका थिए। महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार प्रहरी पुग्दा रिनाको शव घरको बरन्डामा फेला परेको थियो। पति रोहनले बयान अनुसार राति खाना खाएर सँगै सुतेको समयमा अचानक बिरामी भएपछि उनलाई प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको लागि लगेको र त्यहाँ मृत्यु भएपछि शव घरमा ल्याएको थियो।

Sponsored

तर, माइती पक्षले भने रिनाको मुखबाट रगत बगेको र घाँटीमा निलडाम देखिएको भन्दै छोरीको हत्या भएको दावी गरेका छन्। मृतक रिनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। पोस्टमार्टमपछि मात्र मृत्युको कारण खुल्ने डिएसपी जयसवारले बताएका छन्। हालसम्म घटनालाई सामान्य ठहर गरेर प्रहरीले ससुराली पक्षका कसैलाई पनि पक्राउ गरेको छैन।

धनुषाको हंसपुर नगरपालिका ६ सोनिगामाका नवल राउतकी छोरी रिनाको गत वैशाख १९ गते रोहनसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो। माइती पक्षले विवाहमा लत्ताकपडा, फर्निचर, गरगहना तथा नगद गरी करिब १५ लाख रुपैयाँ खर्च गरेको थियो। विवाहको केही समय दाम्पत्य जीवन सामान्य भए पनि पछिल्लो समय थप दाइजोको माग गर्दै पतिसहित घरपरिवारले रिनालाई निरन्तर कुटपिट र यातना दिने गरेको बुबा नवल राउतले बताएका छन्।

बुबा नवलका अनुसार रक्षाबन्धनको एक दिनअघि छोरी रिना माइती आएकी थिइन्। निराश छोरीले थप दाइजोको लागि आफूलाई कुटपिट गरिएको बताएको र बुबाले भोलिपल्ट मंगलबार आफै पुर्याउन गएको बताएका छन्। उनले घरपरिवारलाई सम्झाएर फर्केको बेला छोरीले आफूलाई नछोड्न आग्रह गरेकी थिइन्। बुबा नवलले भने, “राति नै ज्वाइँले मृत्यु भएको खबर गरे। छरछिमेकले अबेर रातिसम्म घरमा झगडा भएको बताएका छन्। मेरो छोरीलाई सुनियोजित रूपमा हत्या गरिएको छ।”

Sponsored

माइती पक्षले रिनाको हत्या भएको दावी गर्दै पति रोहनसहित परिवारका चारजनाविरुद्ध प्रहरीमा कर्तव्यज्यान मुद्दा दायर गरेका छन्। जाहेरीमा ससुरा बृज मोहन राउत, सासु मनतोर देवी राउत, र देवर ओम कुमार राउतविरुद्ध मुद्दा दायर गरिएको छ। डिएसपी जयसवारले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

एक वर्ष अघि जनकपुरको थापाचोककी आरती साहको घटना भएको थियो । दाइजोको निहुुुमा हत्या भएको भन्दै माइत पक्ष लामो समय आन्दोलित हुँदा घटना चर्चित भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *