TodayPati

मधेशको मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन बसेका तीनजनाको स्वास्थमा समस्या

टुडेपाटी-
जनकपुरधाम, भदौ ५ गते ।

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा जोड्ने कमला नदीको पुल  निर्माणको माग गर्दै आमरण अनशन बसेका तीनजनाको स्वास्थ्यमा समस्या भएको छ । मंगलबार दिउँसो आमरण अनशन बसेका अनशनकारी औरही गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष जिवछ यादव, सिरहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद समशाद आलम र सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह अस्वस्थ  भएका हुन् ।

मंगलबार  मधेशको मुख्यमन्त्री कार्यालय अगाडि पुल निर्माण संघर्ष समिति संयोजक इन्जिनियर प्रविण यादवको नेतृत्वमा दशजना युवा दिउँसो १ बजेदेखि आमरण अनशन बसेेका हुन् ।
अनशन बस्नेमा संयोजक यादब बाहेक सदस्य भोगेन्द्र साह, सिरहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष इन्द्रजित यादव, वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद समशाद आलम, सिरहाको औरही गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सुरेन्द्र कुमार यादव, औरही -३ वडा अध्यक्ष जिवछ यादव ,सनातन हिन्दु परिषद नेपालका अध्यक्ष मनिष कुमार यादव, इन्जिनियर शैलेस यादव, सिरहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य इन्जिनियर रुपेश यादव र इन्जिनियर शिवशंकर यादव लगायत छन् ।

Sponsored

२७ साउनमा संघर्ष समितिले दर्जनौंको संख्या सिरहा सदरमुकाम सिरहाबाट मोटरसाइकल जुलुस निकाल्दै मुख्यमन्त्री कार्यालय पुगेर मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले आफ्नै लगानीमा पुल निर्माण प्रक्रिया  सात दिन भित्र सुरु नभए आमरण अनशन बस्ने चेतावनी दिएको थियो ।

दिएको अल्टिमेटम भित्र मधेश सरकारले कुनै चाँसो नदेखाएको कारण बाध्य भएर आमरण अनशन सुरु गरेको संयोजक यादवले बताए ।

कमला नदीमा यथाशीघ्र पुल निर्माण गर्नुपर्ने मात्र एक सूत्रीय संघर्षसमितिको माग छ।
पहिलाको पुलको डिजाइन नै गलत भएकाले निर्माणाधीन अवस्थामा भासिएको भन्दै संघर्ष समितिले, त्यसलाई मर्मत गर्नुको साटो नयाँ डिजाइन गरेर नयाँ पुल बनाउनुपर्ने माग रोखेको छ ।

Sponsored

१३ वर्षदेखि निर्माणाधीन कमला नदीको पुल सन्चालनको तयारीमा हुँदा अत्यधिक बाढीले १७ असार २०७८ मा भासिएको थियो । २०६८ मंसिरमा ४ सय ७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्सट्रक्सनबीच ठेक्का सम्झौता भएको थियो । तर पटक पटक म्याद थप्दा १० वर्षसम्म पनि निर्माण सम्पन्न भएन ।

२०७५ पुसमा रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक संघर्ष समितिले रिले अनशन थालेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट सो ठेक्का तोडेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । २०७८ असार १३ भित्र सक्ने गरी काम भइरहेको बेला पुल नै भासिएको थियो ।

पुल नबन्दा दक्षिणी क्षेत्रका लाखौं नागरिकले सास्ती खेप्नु परेको छ । सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *