TodayPati

ढल्केबर-लोहारपट्टी १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा

टुडेपाटी-
जनकपुरधाम,साउन ३१ गते ।

धनुषाको ढल्केबरदेखि महोत्तरीको लोहारपट्टीसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनको निर्माण कार्य पूरा भएको छ।

ढल्केबर–लोहारपट्टी प्रसारण लाइन १३२ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी बुधबारदेखि सञ्चालनमा ल्याइएको छ।

Sponsored

धनुषा र महोत्तरीका क्षेत्रमा विद्युत् आपूर्ति सुधार, बढ्दो मागको व्यवस्थापन, र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल विद्युत् प्राधिकरणले करिब १ अर्ब १३ करोड रुपैयाँको लगानीमा यो आयोजना निर्माण गरेका हुन्।

डबल सर्किट प्रसारण लाइनको कुल लम्बाइ २३ किलोमिटर रहेको छ, जसका लागि ९१ वटा टावरहरू निर्माण गरिएका छन्।

लोहारपट्टी सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए क्षमताका दुई पावर ट्रान्सफर्मर र १३२/११ केभी, २२.५ एमभीए क्षमताको एक ट्रान्सफर्मर स्थापना गरिएको छ, जसले समग्र सबस्टेसनको क्षमता ८२.५ एमभीए पुर्‍याएको छ।

Sponsored

यस सबस्टेसनबाट विद्युत् आपूर्ति सुरु भएपछि जनकपुर, जलेश्वर, गौशाला, र यदुकुवा वितरण केन्द्रअन्तर्गतका करिब डेढ लाख ग्राहकहरूले प्रत्यक्ष लाभ पाउने छन्।

प्राधिकरणका मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरका अनुसार यस आयोजनाबाट अब सो क्षेत्रमा चुहावट कम हुनुका साथै न्यून भोल्टेज, र बारम्बार विद्युत् विच्छेद (ट्रिपिङ) जस्ता समस्या समाधान भई समग्र विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, र गुणस्तरीय हुने छ।

यसअघि, यस क्षेत्रमा ढल्केबरबाट जनकपुरको मुजलिया हुँदै विद्युत् आपूर्ति हुँदै आएको थियो। तर, पुरानो लाइन लामो र क्षमताले नधान्दा न्यून भोल्टेज र ट्रिपिङ जस्ता समस्या देखिएका थिए।

नयाँ संरचनाबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका चार वटा फिडर निकाल्न सकिने गरी व्यवस्था गरिएको छ, जसमा जलेश्वरका लागि दुई, गौशाला र जनकपुरका लागि एक–एक फिडर निर्माण गरिएको छ। जनकपुरतर्फको एउटा फिडर निर्माण सम्पन्न गरी चालु गरिएको छ।

यस्तै, लोहारपट्टी सबस्टेसन वरपरको क्षेत्रका लागि ११ केभीका चार वटा फिडर लाइन निकाल्न सकिने व्यवस्था गरिएको छ, जसमा दुई वटा फिडर निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ। यो प्रसारण लाइन आयोजना लगभग तीन वर्षअघि सुरु गरिएको थियो।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *