TodayPati

कमला पुल निर्माण प्रक्रिया सुरु गर्न मधेश सरकारलाई ७ दिने अल्टिमेटम

टुडेपाटी-
जनकपुरधाम, साउन २७ गते।

हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीको पुल निर्माण प्रक्रिया सात दिनभित्र सुरु गर्न मधेश सरकारलाई संघर्ष समितिले अल्टिमेटम दिएको छ।

सिरहा सदरमुकामबाट मोटरसाइकल जुलुससहित आएका प्रदर्शनकारीहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका हुन्।

Sponsored

संघर्ष समितिका संयोजक इन्जिनियर प्रविण यादवले ज्ञापनपत्र बुझाउँदै, यदि सात दिनभित्र पुल निर्माण प्रक्रिया सुरु नगरिएमा मुख्यमन्त्री कार्यालयअगाडि सामूहिक आमरण अनशन बस्ने चेतावनी दिएका छन्।

समितिको एकमात्र माग भनेको कमला नदीमा यथाशीघ्र पुल निर्माण गर्नु हो। पहिलेको निर्माणाधीन अवस्थामा भाँसिएको पुलको डिजाइन गलत भएकाले, त्यसलाई मर्मत गरेर सञ्चालन गर्न असम्भव रहेको संघर्ष समितिको ठहर छ। समितिले प्रदेश सरकारले आफ्नै लगानीमा पुल निर्माण गर्नुपर्ने माग राखेको छ।

कमला नदीको पुल १३ वर्षदेखि निर्माणाधीन अवस्थामा थियो। २०७८ साल असार १७ गते, अत्यधिक बाढीका कारण संचालनको तयारीमा रहेको पुल भाँसिएको थियो। २०६८ मंसिरमा ४७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी २४ करोड ९१ लाखमा पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो। तर, पटक पटक म्याद थप्दा पनि १० वर्षसम्म पुल निर्माण हुन सकेन।

Sponsored

२०७५ पुसमा रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक संघर्ष समितिले रिले अनशन सुरु गरेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट ठेक्का खोसेर, २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनसँग पुनः सम्झौता गरेको थियो। २०७८ असार १३ भित्र काम सम्पन्न गर्ने गरी प्रयास भइरहेको बेला, पुल भाँसिएको थियो।

पुल नबन्दा दक्षिणी क्षेत्रका लाखौं नागरिकले सास्ती खेप्नु परिरहेको छ। सवारीसाधनले लामो रुट प्रयोग गरेर आवतजावत गर्नुपरेको छ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सिंहले आफू सप्तरीका बासिन्दा भएकोले जनकपुर आउन जान आफूले समेत वर्षौँदेखि कठिनाइको सामना गरिरहेको बताए। निर्माणधीन पुल संघीय सरकारको मातहतमा रहेकाले यस विषयमा पटक पटक ध्यानाकर्षण गराइएको पनि उनको भनाइ छ। साथै, उनले संघीय सरकारसँग छलफल गरेर मधेश सरकारले यसबारे निर्णय लिने बताए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *