TodayPati

आलोचना बढेपछि पार्टीको छवि बचाउन मुख्यमन्त्रीलाई जनमतले सोध्यो स्पष्टीकरण

टुडेपाटी-
जनकपुरधाम, साउन २६ गते ।

जनमत नेतृत्वको मधेश सरकारमा २२ साउनमा ५ राज्यमन्त्री थपिएर जम्बो मन्त्री मण्डल बन्यो । हालसम्मको १५ सदस्य मन्त्रीमण्डलको रेकर्ड तोड्दै मुख्यमन्त्री सतिशकुमार सिंहले २० सदस्यीय पुर्याए । नेपाली कांग्रेसबाट २ तथा जनमत, एमाले र लोसपाबाट १–१ राज्यमन्त्री नियुक्त भायो । जम्बो मन्त्री मण्डलको कारण सरकार मात्र होइन नेतृत्व गर्ने दल जनमतपनि चर्को आलोचना सुरु भयो । यसअघि ल्याएको बजेट र सांसदलाई बजेट दिने विषय निर्विवाद रहन सकेन ।

नेतृत्वमा आएको दुई महिना भित्रै तीन ठूला आलोचनाको घटनाक्रमले जनमत डराएको छ । संसदीय अभ्यासमा डा. सिके राउत नेतृतवको जनमत पार्टी नयाँ हो । दुई महिनादेखिको जनमत नेतृत्वको सरकार र विगत साढे ६ वर्षको जसपा नेतृत्वको मधेश सरकारको कार्यशैली र सुशासनमा खासै तात्विक भिन्नता देखिन्न ।
बिगतमा जसपा नेतृत्वको सरकारको घटनाक्रमको ठूलो मुद्दा बनाएर सडक र सदन तताएका जनमत आज आफै सरकारमा हुँदा भिन्न हुन सकेको छैन । मधेश सरकारसँगै पार्टी आलोचनाको सिकार बन्दै जाँदा नाटकीय ढंगबाट चोखिन खोजेको छ । जनमतले यो सबै दोष मुख्यमन्त्री टाउकोमा खन्याएको छ । र उनीसित स्पष्टीकरण मागेर पार्टीको छवि बचाउन खोजेको देखिन्छ ।

Sponsored

मुख्यमन्त्री सिंहले पार्टीसँग समन्वय नगरेको, पटक पटक त्रुटि गरेर हिडेको, पार्टीको केही निर्देशनको पाल्ना नगरेको ठहर जनमले गरेको छ । अनुशासन समितिले निर्णय गरी शुक्रबार मुख्यमन्त्री सिंहसित स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण पत्र दिउँसै मुख्यमन्त्री सिंहलाई पठाइएको जनमतका प्रवक्ता शरदसिंह यादवले बताए ।
उनका अनुसार मुख्यमन्त्री सिंहमाथि पार्टीसँग समन्वय नै नगरी पहिले मन्त्रालय बाँडफाँड गरेको र अहिले राज्यमन्त्री थपेको निष्कर्श छ । तर मुख्यमन्त्री सिंहले पटक पटक गरेको मन्त्री परिषद पुनर्गठन, अन्य पार्टीसँग गर्ने भावबण्डा, आफ्नो पार्टीबाट हुने सहभागिताको विषयमा विमर्श गरेर अघि बढेको पार्टीका एक केन्द्रीय नेताको दावी छ ।
‘हरेक पटक पार्टी नेतृत्वसँग समन्वय गरेरै मुख्यमन्त्रीले सरकार विस्तार गर्नु भएको हो । पार्टीबाट पनि सहभागिता भएकै हो । जसको प्रमाण हो पार्टीको निर्णय अनुसार जनमतबाट पटक पटक गरी दुई मन्त्री र चार राज्यमन्त्री बन्नु’ ती केन्द्रीय नेता भन्छन् ‘अहिले मुख्यमन्त्रीले समन्वय नगरेको, भागबण्डा नगरेको, मनपरी गरेको हो भन्नु न्यायसंगत भएन ।’
ती नेताका भनाइमा समाजिक संजाल पार्टीको आधिकारिक फेसबुक पेज डा.सिके राउतबाट आफ्नो दलबाट भएका मन्त्री र राज्यमन्त्रीलाई औपचारिक पधाई दिएको पोस्ट पनि त्यसको प्रमाण हो ।

आफ्नो पार्टीले सिफारिस गरे अनुसार नै जनमतबाट पनि एकजनालाई राज्यमन्त्री बनाएको मुख्यमन्त्री सिंहले बताए ।
पार्टीले मुख्यमन्त्रीमाथि जनताको हकहितको लागि मन्त्रालयहरूको काममा ध्यान दिनु भन्दा अनावश्यक उद्घाटन समारोहहरूमा समय खर्चिँदै आएको, पार्टीले दिएको निर्देशनहरू वेवास्ता गरेको निष्कर्श छ । बजेट बनाउने क्रममा सांसदहरुलाई पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिएर पार्टीको छविमा बारम्बार आँच पुर्याएको लगायतको कारण मुख्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको प्रवक्ता यादवको भनाइ छ ।

पार्टीले स्पष्टीकरण सोध्नुलाई मुख्यमन्त्री सिंहले स्वभाविक लिएका छन् । ‘पार्टीले नै मुख्यमन्त्री बनाएको हो । पार्टीले कुनै कारणमा जतिबेला पनि स्पष्टीकरण सोध्न सक्छ । यो स्वभाविक हो । यसलाई समान्य रुपमा लिएको हुँ’ मुख्यमन्त्री सिंहले भने ।

Sponsored

२५ जेठमै उनी नेकपा एमालेसहित ६ दलको सहर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । पछिल्लो जम्बो मन्त्री मण्डलको विषयमा आलोचना बढेको मुख्यकारणले नै मुख्यमन्त्रीलाई स्पष्टी करण सोधिएको जनमतका नेताहरु बताउँछन् ।
मुख्यमन्त्री सिंह संवैधानिक प्रावधानकै दायरामा रहेर पाँच राज्यमन्त्री थपेको तर्क गर्छन् । ‘प्रदेशसभामा कुल सदस्यसंख्याको २० प्रतिशत मन्त्री मण्डल बनाउन सकिने संवैधानिक प्रावधान छ । यस हिँसाबले एकजना अझ थप्न सकिन्छ’ उनले भने ‘बिगत जस्तो राज्यमन्त्री बनाएर थुपार्ने काम मात्र हुँदैन । कार्य जिम्मेबारी दिएर काम गरेर समेत देखाउँछु’
डा. सिके राउत नेत्वको जनमत पार्टीले फरक ढंगले काम गर्ने मधेशमा आमजनको अपेक्षा छ ।

तर जनमतबाट मधेश सरकारको नेतृत्व लगतै ल्याएको चालु आर्थिक वर्ष २०८१।०८२ को बजेट पनि आलोचनाबाट अछुतो रहन सकेन । बजेटमा त्रुटि भएको मुख्यमन्त्री सिंहको स्वीकारोक्तिलाई प्रतिपक्षी जसपाले मुद्दा बनायो । बजेट प्रणाली पिएलएमबीएसआई ह्याक गरेर बजेट इन्ट्री भएको भन्दै प्रमुख प्रतिपक्षी जसपाले पटक पटक सदन अवरुद्ध गरे । जसको कारण उच्च स्तरीय छानबिन समिति बनाउन वर्तमान र निवर्तमान मुख्यमन्त्रीलाई प्रदेशसभाले जिम्मा नै दिएको छ ।
उसो त मुख्यमन्त्री बनेकै दिन पनि सरकार आलोचनाको चपेटामा पर्यो । पहिलो पटक बसेको मन्त्री परिषद बैठकले प्रत्येक सांसदलाई पाँच करोड बजेट चलाउन दिने निर्णय भएको भन्ने खबर सार्वजनिक भएको थियो । मुख्यमन्त्रीको त्रुटिपूर्ण अभिव्यक्तिको कारण आलोचना खेप्नु पर्यो । मुख्यमन्त्री सिंह त्यस बखत मिडियाले पनि कुरा बंग्याउँदा विपक्षीले त्यस मुद्दालाई उठाएर सरकारलाई बद्नाम गर्न खोजेको बताए ।

एक केन्द्रीय नेताका हनुसार आलोचना बढेपछि साउन पहिलो साता जनकपुरमा बसेको जनमतको सचिवालय बैठकमा जनमतले महसुस हुने गरी कामममा जोड दिन निर्देशन दिएको थियो ।
‘बिगत जस्तो त्रुटि हुन नदिनुस् । जनतालाई अनुभूति हुने गरी काम गर्नुस् लगायतको निर्देशन सचिवाय बैठकमै मुख्यमन्त्री सिंहलाई दिइएको थियो’ प्रदेश सांसद समेत रहेका ती नेता सुनाउँछन् ।

मुख्यमन्त्री सिंह नेतृत्वसँग समन्वय गरेर नै धेरै काम गर्ने गरेको दावी गरे । ‘पार्टी नेतृत्व मेरो अभिभावक हो । पार्टीलाई बाइपास गरेर हिड्न मिल्दैन । महत्वपूर्ण धेरै कामहरु समन्वय सरसल्लाह गरी गर्छु’ मुख्यमन्त्री सिंह भन्छन् ‘गठबन्धनको सरकार भएकाले सबैलाई मिलाएर काम गरिरहेको छु ।’
जनतालाई महसुस गराउन १८ घण्टा खट्ने गरेको बताउँदै साढे ६ वर्षमा यसअघिका सरकारले गरेको कतिपय व्यतिथिलाई सुल्झाउन समय लाग्ने उनको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *